गठबन्धनले नजिते संविधान र सार्वभौमसत्ता खतरामा : देव गुरूङ

मूलखबर संवाददाता
लमजुङ, १८ कात्तिक

लमजुङबाट प्रतिनिधिसभाका लागि लाेकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले गठबन्धनले नजिते संविधान र राष्ट्रिय सार्वभौमसत्ता खतरामा पर्ने बताएका छन् । जिल्लाका अन्य साझा प्रदेश उमेदवारसहित  आजदेखि औपचारिक रुपमा निर्वाचन प्रचारप्रसार शुरु गरेका गुरूङले अहिलेकाे निर्वाचन सामान्य आवधिक निर्वाचन मात्रै नभएको बताएका हुन् । उनले जिल्लाकाे प्रवेशद्वारमा रहेकाे पाउँदीबजारबाट अभियान उद्घाटन गर्दै लमजुङमा गठबन्धनको जित सुनिश्चित रहेको पनि दावी गरेका छन् ।

अभियानमा  प्रदेश क र ख मा साझा उमेदवारकाे रूपमा रहेका नेपाली कांग्रेसका नेताहरू डा. टकराज गुरूङ र भेष बहादुर पाैडेलसहित प्रतिनिधिसभाका समानुपातिक उमेदवार माओवादी केन्द्रका नेताहरू पारसमणी पाैडेल, उर्मिला माझी, प्रदेश सभामा नेपाली कांग्रेसबाट उमेदवार बनेका टिका बस्याल, पार्वती तामाङ र माओवादी केन्द्रकी सतिमाया तामाङलयायत लमजुङका गठबन्धन दलका नेता कार्यकर्ता सहभागी रहेका थिए ।  गठबन्धनले निर्वाचन क्षेत्रभित्र घरदैलो अभियानलाई प्रभावकारी बनाउन संयुक्त सर्कुलर र अपिल पनि जारी गरेको छ ।
सो क्रममा उमेदवारहरूले आफुहरूकाे उमेदवारी संविधान रक्षा, स्थिरता, सुशासन र लमजुङको समृद्धिकाे लागि भएको बताएका थिए ।