नवौँ राष्ट्रिय खेलकुद : करातेमा सेना र गण्डकीलाई तीन–तीन स्वर्ण
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुल कन्ट्याक्ट करातेमा आयोजक गण्डकी प्रदेश र विभागीय नेपाली सेनाले तीन–तीन स्वर्ण पदक जितेका छन् । यसैगरी सशस्त्र प्रहरीले दुई स्वर्ण, मधेस प्रदेश, नेपाल प्रहरी र बागमती प्रदेशले समान एक–एक स्वर्ण हात पारेका छन् । पोखराको नयाँबजारस्थित प्रदर्शनी हलमा शनिबार राति सम्पन्न खेलमा गण्डकीले पुरुषफर्तको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०–५५ तौल समूहमा एक स्वर्ण जितेको हो ।
करातेमा पुुरुषका सात र महिलाका पाँच विधा गरी १२ विधामा प्रतिस्पर्धा गराइएको हो । यसैगरी सेनाले खुला तौल समूह पुरुष, महिला र ६०–६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो । खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जित्नुभयो । गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी उहाँले स्वर्ण हात पार्नुभएको हो ।
सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बन्नुभयो । नेपालीले रजत पदकमा चित्त बुझाउनुभयो । पुरुषतर्फकै ६०–६५ केजी तौल समूहमा सेनाका सनी सिंहले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण पदक हात पार्नुभयो । भुजेलले रजत पदक जित्नुभयो । पुरुषतर्फकै ५५–६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशन लामिछानेले स्वर्ण र नेपाल सेनाका विकास गुरुङले रजत पदक जित्नुभयो ।
पुरुषतर्फकै ५०–५५ केजी तौल समूहमा मधेस प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाउनुभयो । यसैगरी ४५–५० केजी तौल समूहमा गण्डकीका अनिष बुढामगरले बागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जित्नुभयो । बागमतीका राईले रजतमा चित्त बुझाउनुभयो । यसैगरी ४०–४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनिल तामाङले सेनाका राजकुमार यादवलाई पराजित गरी स्वर्ण पदक जित्नुभएको छ ।
पुरुषतर्फको ३५–४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले सेनाका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जित्दा थिङले रजत पदकमा चित्त बुझाउनुभयो । महिलातर्फको खुला तौल समूहमा सेनाका मञ्जु विकले बागमती प्रदेशका निशा बोहोरालाई पराजित गरी स्वर्ण जित्नुभयो । यसैगरी ५०–५५ केजी तौल समूहमा गण्डकीका धनी रानामगरले सेनाका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल हुनुभयो ।
यसैगरी ४५–५० केजी तौल समूहमा बागमती प्रदेशका नवीना धमालले सशस्त्र प्रहरीका करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदकमा चित्त बुझाउनुभयो । ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका रीना माझीले नेपाल प्रहरीकी अञ्जना ढुङ्गेललाई पराजित गरी स्वर्ण पदक जित्नुभयो ।
महिलातर्फको ३५–४० तौल केजी समूहको खेल भने स्थगन भएको छ । सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगन भएको प्रतियोगिता सहसंयोजक दीपक गोदारले बताउनुभयो । विवादका कारण शनिबार दिउँसो साढे २ घण्टा सबै प्रतिष्पर्धा रोकिएका थिए । प्रतियोगितामा सात प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र एनआएनए गरी ११ टिम सहभागी भएका थिए ।