
चर्चित उद्यमीसहित एमाले परित्याग गरि सयौं नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
चितवनमा चर्चित उद्यमीसहित एमाले परित्याग गरि सयौं नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज भरतपुरमा आयोजित कार्यक्रममा उनीहरु माओबादी प्रवेश गरेका थिए भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा उनीहरुलाई स्वागत गरेका थिए ।
चितवनका स्थापित उद्यमी विजय घलेसहित एमाले परित्याग गरि सयौं कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विभिन्न महिला समूह र मुस्लिम समुदायका प्रतिनिधिहरूसमेत माओबादी प्रवेश गरेका छन् । सोहि अबसरमा प्रचण्डले देशमा व्यवस्था बदलिए पनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरुको मुहारमा खुशी ल्याउने चाहना रहेको बताएका थिए । प्रचण्ड चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका थिए ।
प्रचण्डले निकै ठूलो त्याग र बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै परिवर्तन उल्ट्याउन खोज्ने हर्कतहरुलाई नेपाली जनताले कदापी सहन नसक्ने बताएका छन् । उनले माओवादी पार्टी नै देश र जनताको भविष्यको निम्ति लड्ने पार्टी भएको र जनताको मुहारमा खुशी ल्याउन माओवादीले नै नेतृत्व गर्नुपर्ने धारणा राखेका छन् ।
