लघुकथा : अधिकार

गोविन्दबहादुर कुँवर

गोविन्दबहादुर कुँवर

रमा मिसले पहिले पनि राष्ट्रिय विभूति माध्यमिक विद्यालमा केही समयका लागि पढाइन् । पछि स्नातक अध्ययनका लागि भनेर छोडेकी थिइन् । अध्ययन पूरा भएपछि उनले निजी विद्यालयमा पढाउन थालेकी थिइन् ।
समय क्रममा उनी नानीको आमा पनि बनिन् । त्यसको केही समयपछि उनी विद्यालय जान छोडिन् ।
उनी बेरोजगार रहेको केही समयपछि राविमाविमा निमावि शिक्षककाे विज्ञापन खूल्यो । उनले पनि निवेदन दिइन् । उम्मेद्वारहरू बीच तीव्र प्रतिस्पर्धा भयो । लिखित परीक्षा र अन्तर्वार्तमा उनी प्रथम भइन् ।
त्यसो त रमा मिसले पहिलो कार्यकालमा नै शिक्षक, विद्यार्थीमा राम्रो प्रभाव छोडेकी थिइन् । उनको नियमितता र अनुशासन प्रियताले विद्यालय प्रशासन उनी प्रति सकरात्मक थियो ।
उनको छनौटमा कसैको विमति रहेन ।
उनी त्यो ठाउँमा बुहारीको रूपमा भित्रिए पनि, समाजमा छिट्टै घुलमिल भएर परिचित भएकी थिइन् ।
उनलाई नियुक्ति लिन वोलाइयाे । उनी दस बजे नै हाजिर भइन् ।
राविमाविका प्र.अ. गौरीशङ्करले उनलाई बधाई दिदैँ नियुक्ति पत्र बुझ्न निर्देश गरे ।
रमा मिसले भनिन्, “तर मेरो एउटा शर्त छ, सर !`
प्र.अ.ले सोधे, “कस्तो शर्त ?”
वास्तवमा उनलाई आश्चर्य लागेको थियो । निजी श्रोेतमा जागिर खाने शिक्षकको पनि शर्त ?
उनले झिँजो मानेजस्तो गरेर भने, “कस्तो शर्त मिस् ? कि तीजमा माइत जान पाउनुपर्छ भन्ने त हैन नि ?”
रमा मिसले आफू भित्र उठेको आक्रोशलाई लुकाउँदै खिसिक्क हाँसेर भनिन्, “हैन सर ! मैले मेरो नानीलाई दूध दिन पाउनु पर्छ, नत्र सरी सर, म यो नियुक्तिपत्र बुझ्न असमर्थ छु ।”
उनले अघिल्लो विद्यालयमा जागिर छोड्नुको कारण यही रहेछ ।
रमा मिसको शर्तले गौरीशंकर भावुक भए ।
उनले भने, “रमा मिस ! तपाईँले विश्राम समयमा मात्र हैन जुनै खाली पिरियडमा पनि नानीलाई आफ्नो दूध दिनसक्नु हुन्छ ।
यो त नानीको अधिकार हो । उनको अधिकार हरण गर्ने हामी को हौँ र ?”
यति भनी सक्दासम्म रमा मिसका आँखा रसाइसकेका थिए ।
– सुन्दरबजार – ८, भाेटेओडार, लमजुङ्ग
(साभार: नमस्ते आधुनिक लघुकथा मञ्चकाे चौथाे स्मारिका, लघुकथाकाे सुगन्ध)