पहिरो बगेर दर्जनौँ घर परिवार विस्थापित
कतै सडक खन्दाको समस्याले जमिन खस्छ, पहिरो जाने धेरै घटना छन् तर, बागलुङको रायडाँडामा भने अनौठो तरिकारले बस्ती नै बग्न थालेको छ । बागलुङ नगरपालिका–११ को तल्लो रामतोलामा पहिरो बगेर दर्जनौँ घर परिवार विस्थापित भएका छन् । केही दिनदेखि जमिनमा चिरा परेको र मङ्गलबारको अविरल वर्षापछि जमिन बग्न थालेको हो । जमिन बग्दा सडक, जङ्गल, ठूला पिपलका रुख, सुन्तलाको बगान, कुखुरा पालन फार्म र कतिपय घरमा चिरा परेका छन् भने केही घर र गोठ भत्केका छन् ।
“घर कटेरो भत्केपछि सबै छाडेर हिँड्नुपरेको छ”, स्थानीयले भने, “छिमेकीका घरपनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन् ।” केही दिनदेखि जमिन चर्केकामा बुधवार बिहान बढी पहिरो खसेको बताए । यो बस्तीका बिजुलीका खम्बा ढलेपछि झण्डै एक सय घरमा बिजुली अभाव भएको स्थानीयको भनाइ छ । खानेपानीको ट्याङ्कीसमेत बगेपछि स्थानीय चिन्तामा छन् ।
पहिराले बिजुलीका खम्बा ढल्दा ती घरमा विद्युत् अवरुद्ध भएको छ । उक्त पहिराले स्थानीय कुलराज शर्मासहित दर्जन बढी घरपरिवार विस्थापित भइसकेका छन् । केही घरपरिवार सुरक्षित ठाउँको खोजीमा रहेका छन् । जमिन चिरा परेको स्थान हेर्दा थप सयौँ रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको देखिएको छ । पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको हो ।