आर्थिक र प्राविधिक कारण अपेक्षा अनुसार उत्पादन गर्न सकिएन : मन्त्री भुसाल

मूलखबर संवाददाता
काठमाडौं

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको बताएकी छन् । मुलुकभित्र उपलब्ध जलविद्युत्को उत्पादन तथा समुचित विकासबाट उज्यालो नेपाल बनाउन सरकारसँग स्पष्ट मार्गचित्र रहेको उल्लेख गर्दै उनले आर्थिक र प्राविधिक कारण अपेक्षाअनुसार उत्पादन गर्न नसकिएको बताइन ।

मुलुकभित्र लोडसेडिङ अन्त्य भएको भन्दै  मन्त्री भुसालले जलविद्युत् उत्पादनका क्षेत्रमा निजी क्षेत्रले गरेको भूमिका प्रसंशीय रहेको बताइन । जलाशययुक्त जलविद्युत् आयोजनामध्ये धेरैको अध्ययन भइरहेको र बूढीगङ्गा र दूधकोसी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको बताउंदै उनले माथिल्लो कर्णाली आयोजनाका सन्दर्भमा जिएम आर कम्पनीसँग भएको सम्झौता भएको र यसबाट उत्पादित विद्युत् बङ्गलादेशसम्म निर्यात गर्न सकिने बताइन ।