नवौं राष्ट्रिय खेलकुदका लागि पोखरामा सचिवालय स्थापना, खेलकुद मन्त्रीद्वारा उद्घाटन

मूलखबर संवाददाता
पोखरा, ६ भदौ

नवौं राष्ट्रिय खेलकुदका लागि राखेपले कार्यकारी समितिको सचिवालय पोखरा रंगशालामा स्थापना गरेको छ । रंगशालामा रहेको बहुउद्देश्यीय कभर्ड हलमा स्थापित सचिवालयको आइतबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरे ।

आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुने प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले पोखरामा सचिवालय स्थापना गरेको हो ।

सचिवालयको उद्घाटन गर्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद तोकिएको समयमै सञ्चालन हुनेमा कुनै सन्देह नगर्न आग्रह गरे । सरकारले पहिलो चरणमा भदौ १ मा प्रतियोगिताका लागि १० करोड रुपैयाँ विनियोजन गरेको र सम्पूर्ण तयारी अघि बढिसकेकोले उनले जनाए ।

‘खेलकुदको सबैभन्दा ठूलो महोत्सव गण्डकी प्रदेश र यहाँको राजधानी पोखरामा हुँदै छ,’ उनले भने, ‘खेल पर्यटनको विकासमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’ राष्ट्रिय खेलकुदलाई सफल बनाउन तीन तहकै सरकारको सामूहिक प्रतिबद्धताको आवश्यकता उनले औंल्याए । खेलकुदलाई असर नपर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका बनाउने प्रतिबद्धता जनाएको जानकारी उनले दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रिय खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकारको सम्पूर्ण सहयोग रहने बताए । ‘खेलकुदको महाकुम्भ गण्डकी प्रदेशको राजधानीमा हुनु हाम्रो लागि गौरवको विषय हो,’ उनले भने, ‘स्वभाविक रुपमा जिम्मेवारी थपिएको छ । सचिवालयसँगको सहकार्यमा तदारुकताका साथ लाग्छौं ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी बनाउन राष्ट्रिय खेलकुदले थप टेवा पुग्ने बताए । उनले प्रतियोगितालाई व्यवस्थित गर्न अत्यन्त जिम्मेवार भएर सबै हिसाबले सहयोग गर्ने प्रतिबद्धता जनाए ।