पुबुदु दासानायके क्यानडा राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त

मूलखबर संवाददाता
काठमाडौं, ४ साउन

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडा राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएका छन् । बुधबारमात्रै दासानायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

गत मंसिरमा २ वर्षका लागि दासानायके नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए । दासानायकेले व्यक्तिगत कारण देखाउँदै स्कटल्यान्ड भ्रमणअघि नै पदबाट राजीनामा दिएको समाचारहरु आएका थिए । दासानायके नेपालका सफल प्रशिक्षक मानिन्छन् ।

यसअघि पनि २०११ अक्टोबरमा दासानायके नेपाली टोलीको मुख्य प्रशिक्षक बनेका थिए । क्यानडालाई त्यही वर्ष एकदिवसीय विश्वकप खेलाएको ताजा अनुभव बोकेर उनी नेपाल भित्रिएका थिए । उनी आउनुअघि नेपाल विश्व क्रिकेट लिगको संरचनामा अड्किरहेको थियो ।

नतिजाको हिसाबमा दासानायके आएपछि नेपाली क्रिकेटले ठूलै उडान लियो । डिभिजन ४ मा रहेको नेपाल डिभिजन ४ र डिभिजन ३ जित्दै एकदिवसीय विश्वकप छनोटसम्म पुग्यो । दासानायके आउनुअघि नेपाल एसीसी ट्वान्टी–२० को सेमिफाइनलसम्म पनि पुग्न सकेको थिएन । उनकै प्रशिक्षणमा नेपाल २०११ मै एसीसी ट्वान्टी–२० को सेमिफाइनलमात्र पुगेन, २०१३ को अर्को संस्करणमा फाइनल पुग्यो ।

त्यहींबाट ट्वान्टी–२० विश्वकप छनोट हुँदै विश्व ट्वान्टी–२० मा पुगेको थियो।