बुढीगण्डकी जलविद्युत् परियोजना बनाउन कम्पनी स्थापना गर्ने मन्त्री परिषद्काे निर्णय : कसलाई कति शेयर ?

मूलखबर संवाददाता
काठमाडौं, १४ असार

सरकारले राष्ट्रिय गाैरवकाे अायाेजनाकाे रूपमा रहेको बहुचर्चित र बहुप्रतिक्षित बुढिगण्डकी  जलविद्युत अायाेजना निर्माणकाे लागि कम्पनी बनाउने निर्णय गर्दै कम्पनीमार्फत नै आयोजना निर्माण गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सो आयोजना कम्पनी मोडलमा निर्माण गर्नेसम्बन्धी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले गरेको प्रस्ताव पारित गरेको हो।

कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने कि विदेशी कम्पनीलाई दिने भन्ने सन्दर्भमा लामो समयसम्म ठोस निर्णय हुन नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको थिएन।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सरकारले शेयर संरचनासमेत तयार पारेर कम्पनी मोडलमा निर्माण गर्ने गरी आवश्यक निर्णय गरेको छ।

सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको थियो। सरकारले हालसम्म आयोजना प्रभावितका लागि मात्रै रु ४० अर्ब बराबरको मुआब्जा वितरण गरिसकेको छ।

त्यस्तै आयोजनाका लागि भनेर नै पूर्वाधार कर लगाएर नेपाल आयल निगममार्फत् रु ७० अर्बभन्दा बढी संकलन गरेको थियो। पछिल्ला दिनमा भने सो कर उठाउन बन्द गरिएको छ।

कम्पनीको सञ्चालक समिति सात जनाको रहने व्यवस्था गरिएको छ। त्यसमा सरकारको तर्फबाट तीन जना, ऊर्जा मन्त्रालयका सचिव, ऊर्जा र अर्थ मन्त्रालयका एक एक जना राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र स्वतन्त्र सञ्चालक रहने व्यवस्था गरिएको छ।

स्वतन्त्र सञ्चालकमा एक जना महिला अनिवार्य गरिएको छ। संस्थापक सञ्चालकबाहेक अन्य सञ्चालकको कार्यकाल पाँच वर्षको हुने छ।स्वतन्त्र सञ्चालकमा एक जना महिला अनिवार्य गरिएको छ। संस्थापक सञ्चालकबाहेक अन्य सञ्चालकको कार्यकाल पाँच वर्षको हुने छ।

आयोजना निर्माणका लागि स्थापना हुने कम्पनीको अधिकृत पूँजी रु ६० अर्ब बराबरको हुनेछ। सो पूँजीलाई प्रतिशेयर रु १०० का दरले कूल ६० करोड कित्ता साधारण शेयरमा विभाजन गरिएको छ। कम्पनीको तत्काल जारी पूँजी रु २० अर्ब बराबरको हुनेछ।

कम्पनीका संस्थापकले तत्काल चुक्ता गर्न कबोल गरेको पूँजी रु १० अर्ब बराबर रहनेछ।

कम्पनीमा अर्थ मन्त्रालयको २५ प्रतिशत बराबरको शेयर हिस्सा रहनेछ। त्यो भनेको १५ करोड कित्ता बराबर रहनेछ।

त्यस्तै ऊर्जा मन्त्रालयको ४० प्रतिशत बराबरको शेयर स्वामित्व रहनेछ। त्यो भनेको कूल २४ करोड कित्ता बराबर रहनेछ। प्राधिकरणको १४ प्रतिशत शेयर रहनेछ। त्यो भनेको आठ करोड ४० लाख कित्ता, विद्युत् उत्पादन कम्पनीको एक प्रतिशत अर्थात् ६० लाख कित्ता रहनेछ।

स्थानीयवासीको १० प्रतिशत अर्थात् छ करोड र सर्वसाधारणको पनि समान छ करोड कित्ता बराबरको शेयर प्राप्त गर्नेछन्।

ऊर्जा मन्त्रालयले प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीलाई आयोजनाको लागतलगायतका पछिल्लो अवस्थाका बारेमा पुनरावलोकन गर्ने जिम्मा दिएको समाचार अन्नपूर्ण पाेष्टमा छ ।