
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित
सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो ।
उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले बताए । उनीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप थिए । मन्त्रिपरिषद्को बैठकले ती सबै विषयमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको ती मन्त्रीले बताए।
उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । ट्विनेटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको; साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगी वित्तीय हानी पुर्याएको; सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्रीको जिम्मा दिएको, जसमा अध्यक्ष आफैंले लाभ लिएको; निगमका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेको; पदअनुसारको आचरण नदेखाएको लगायतका विषयमा स्पष्टीकरण सोधिएको थियो ।
