भक्तपुर नगरपालिकामा नेमकिपाकाे दुइतिहाई, अरू सबै दलकाे जमानत जफत
नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिका भित्र गज्जबको प्रभाव देखाएको छ । देशका अन्य भागमा शुन्य विजयी हात पारेको नेमकिपाले भक्तपुरमा अन्य सवै दलको जमानत जफत गरेर भारी मतान्तरले जित हात पारेको छ । नेमकिपाका सुनिल प्रजापतिले भने खसेको मतको दुई तिहाइ बढी मत ल्याए । निवर्तमान मेयर प्रजापतिले दोस्रो कार्यकालका लागि २९ हजार २०० मत पाए । तर बाँकी दल र स्वतन्त्र उम्मेदवारले खसेको मतको १० प्रतिशत ल्याउन सकेनन् । नेमकिपाको गढ भक्तपुरमा प्रजापतिसँग प्रतिस्पर्धामा ८ वटा दल र पाँच जना स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिएका थिए । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुला ३ हजार ३५२ मतमै सीमित भए । ४३ हजार ३७४ मत खसेकाले जमानत जोगाउन चार हजार कटाउनुपर्ने थियो । तर २०७४ मा पाएको मतको आधामै कासुला सीमित भए । २०७४ को चुनावमा उनले २५ हजार ७३० मत पाएका थिए । कांग्रेससहित एमाले, माओवादी केन्द्र लगायत अन्य दलको पनि यसपटक मत घट्यो । उपमेयरमा पनि नेमकिपाका बाहेक उम्मेदवारले जमानत जोगाउन सकेनन् । उपमेयरमा दोहोरिएकी नेमकिपाका रजनी जोशीले २९ हजार ६९५ मत पाइन् । – समाचार दैनिक