क्यान इन्फोटेक–२०२२ को तयारी अन्तिम चरणमा, प्रवेश शुल्क १ रुपैयाँ मात्रै
सुचना प्रविधिको महाकुम्भको रुपमा लिइने क्यान इन्फोटेकको २७ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।
आगामी २०७९ वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंमा हुन लागेको क्यान इन्फोटेक–२०२२ को तयारी अन्तिम चरणमा पुगेको जानकारी आयोजकले एक पत्रकार सम्मेलनमा दिइएको हो ।
सोमबार आयोजक कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै मेलाको तयारी अन्तिम चरणमा पुगेको बताएको हो ।
आयोजक संस्थाले जनाएअनुसार मेलामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, उद्योग वाणिज्य महासंघ, नेपाल दुरसञ्चार प्राधिकरणलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोगीको रुपमा रहेका छन् ।
यस पटकको मेलामा आइएमइ पे मुख्य प्रायोजक र एमसिटी स्मार्ट क्युआर युनियन पे सह–प्रायोजक रहेको आयोजक संस्थाले जनाएको छ । जनाइएअनुसार वल्र्डलिङ्क कम्युनिकेसन, डिस होम फाइवरनेट, जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउसलगायत पनि विभिन्न शीर्षकमा प्रायोजक छन् ।
मेलामा क्यान महासंघमा आवद्ध संस्थाहरुका साथै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनी एवम् उत्पादनहरुको प्रदर्शन हुने बताइएको छ । मेलामा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाइ तथा इन्टरनेतलगायत सफ्टवेयर तथा नेटवर्किङसम्बन्धी विभिन्न कम्पनीहरुले आफ्नो सामाग्रीहरु प्रदर्शन तथा विक्री गर्नेछन् ।
प्रवेश शुल्क १ रुपैयाँ मात्रै
इन्फोटेकमा प्रवेश शुल्क १ रुपैयाँ मात्रै राखीएको छ । अवलोकनकर्ताको संख्या बढाउन प्रवेश शुल्क निकै नगण्य बनाएको आयोजकको भनाई छ । महासंघले मेला हेर्न जम्मा १ रुपैयाँ तोकेको र उक्त रकम आइएमइ पेले व्यवस्थापन गर्ने बताइएको छ । मेलामा क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलामा करिब ३ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
संस्थाका महासचिव नारायण थापाले यस पटकको क्यानमा भर्चुअल अवलोकन समेत गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए ।