चीनका विदेशमन्त्री वाङको भ्रमणमा दर्जन बढी सहमतिमा हस्ताक्षरको तयारी, अघि बढ्ला त बीआरआइ ?

मूलखबर संवाददाता
काठमाडौं, १० चैत

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा करिब एक दर्जन विषयमा समझदारी गर्न सरकारले गृहकार्य गरेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच शनिबार औपचारिक रूपमा द्विपक्षीय वार्ता भएपछि १० देखि १२ वटा विषयमा दुई मुलुकबीच सहमति गर्ने तयारी छ । चीनले पनि ‘बीआरआई कार्यान्वयन सम्झौता’ अघि बढाउन परराष्ट्रमार्फत नेपाल सरकारलाई आग्रह गरेको छ । चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई कार्यान्वयन सम्झौता नगरे बीआरआई अघि बढाउन गाह्रो हुने सन्देश दिइसकेको छ । यस विषयमा गृहकार्य गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको उच्च नेतृत्व तहबाट स्वीकृत भए वाङको भ्रमणमा नेपाल र चीनबीच बीआरआई कार्यान्वयन सम्झौता हुनेछ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१६ मा चीनको भ्रमण गरेदेखि हालसम्म दुई मुलुकबीच ५० भन्दा बढी विषयमा सहकार्य गर्ने सम्झौता गरिएकामा अधिकांश कार्यान्वयन भएका छैनन्

नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि हालसम्म वस्तुगत प्रगति भएको छैन । नेपालले बीआरआईबाट ऋण होइन, अनुदान लिन चाहेको छ । अनुदान दिन मिल्ने वा नमिल्ने भन्नेबारे चीनसँग छलफल भइरहेको एक सरकारी अधिकारीले बताए । नेपालले सुरुआतमा बीआरआईबाट फाइदा लिनका लागि ३५ वटा परियोजना अघि सारेको थियो तर चीनले त्यसलाई एक अंकमा घटाउन भनेपछि नेपालले नौवटा बनाएर पठाएको बताइएको थियो । आधिकारिक रूपमा भने नेपालले बीआरआईका लागि भनेर कुनै पनि परियोजनाबारे निर्णय गरेको छैन ।

वाङको भ्रमणमा नेपाल र चीनबीच हुने छलफलमा नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन, रसुवागढी र तातोपानीबाहेक अन्य एक नाका ९कोरला० को औपचारिक सुरुवात गर्नेलगायत विषयलाई अघि बढाउन परराष्ट्रले गृहकार्य गरेको स्रोतले बतायो । परराष्ट्र स्रोतका अनुसार वाङले नेपालको स्वास्थ्य क्षेत्रमा केही सहयोग गर्ने खालको परियोजनामा पनि सहकार्य गर्न सक्नेछन् ।

चीनका लागि पूर्वराजदूतहरूले पनि नयाँ सम्झौताभन्दा पुरानैलाई कार्यान्वयन तहमा लैजाने गरी अघि बढाउन सुझाव दिएका छन् । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा पूर्वराजदूतहरू लीलामणि पौडेल, टंक कार्की, राजेश्वर आचार्य र महेश मास्केले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ लाई अघि बढाउन आग्रह गरेका हुन् ।

विदेशमन्त्री वाङले नेपाल आउनुअघि पाकिस्तान र भारतको पनि भ्रमण गर्नेछन् । तीनदिने औपचारिक भ्रमणका लागि उनी शुक्रबार बेलुकी नेपाल उत्रनेछन् । काठमाडौंस्थित चिनियाँ दूतावासका कर्मचारीसँग छलफल गरेपछि वाङले शनिबार परराष्ट्रमन्त्री खड्कासँग द्विपक्षीय वार्ता गर्नेछन् । वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्दै छन् ।

संघीय संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन भएको एक महिनाभित्रै वाङले काठमाडौं आएर नेपाल र चीनबीच सहकार्यका लागि बाटो खुला गर्न लागेका हुन् ।

नेपालमा अमेरिकी सहयोगमाथि चर्चा भइरहँदा बेइजिङले पटक–पटक टिप्पणी गरेको थियो । दुई मुलुकबीच सीमा समस्या, नाकाहरूमा सामग्री आयात र निर्यातमा देखापरेका अप्ठ्यारा, कोभिड–१९ पछि नेपाल आएका विद्यार्थीको पठनपाठन निरन्तरतामा समस्या, आपसी अविश्वासलगायत विषय बाहिर आइरहेको पृष्ठभूमिमा हुन लागेको वाङको भ्रमणलाई महत्त्वका साथ हेरिएको खबर आजको कान्तिपुरमा छ ।