राज्यद्वारा वेपत्ता विद्यार्थी नेता विपिनकाे स्मृतिमा पार्क र संग्रहालय बनाइँदै

मूलखबर संवाददाता
सल्यान

सल्यानको बागचौरमा बेपत्ता पार्क बनाइने भएको छ । जनयुद्धको क्रममा राज्यसत्ताद्वारा बेपत्ता पारिएकाहरूको सम्झनामा बागचौर नगरपालिका वडा नम्बर २ स्थित ‘बिपिन भण्डारी मेमोरियल’ पार्क तथा संग्रहालय बन्ने भएको हो ।

जनयुद्धमा बेपत्ता पारिएका बिपिन भण्डारीको नाममा दर्ता रहेको बिपिन भण्डारी फाउन्डेसनले उक्त पार्क तथा संग्रहालय बनाउने भएको हो ।

जसका लागि बिपिनका बुबा वरिष्ठ अधिवक्ता एकराज भण्डारी र आमा शान्ता भण्डारीले बागचौरमा रहेको १ रोपनी १२ आनाको जग्गा प्रदान गर्ने भएका छन् । पार्कमा बेपत्ता पारिएका बिपिन भण्डारीको सालिक पनि राखिनेछ ।

बिपिनलाइ २०५९ असार ३ गते तत्कालीन राज्यपक्षद्वारा काठमाडौको सुकेधाराबाट बेपत्ता पारिएको थियो । २०३७ सालमा बागचौर नगरपालिका २ मा जन्मिएका बिपिन अध्ययनका शिलसिलामा काठमाडौ आएका बेला राजनीतिमा लागेका थिए । तत्कालीन माओवादी निकट अनेरास्ववियुको काठमाडौ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिवालय सदस्य र नेकपा माओवादीको काठमाडौ जिल्ला सचिवालय सदस्यमा बिपिनले जिम्मेवारी निभाएका थिए ।

अमृत साइन्स क्याम्पसमा अध्ययन गरेका उनी अत्यन्तै लगनशील, क्रान्तिकारी र उर्जाशील रहेको उनका सहपाठीहरू बताउँछन् ।

त्यस्तै उक्त पार्कमा देशभरी बेपत्ता पारिएका सम्पूर्ण १ हजार ९८ जनाको विस्तृत जानकारी सहितको शिलालेख राखिने भएको छ ।

यस पार्कमा खानेपानी, शौचालय र कार्यक्रम गर्न मिल्ने टहरा बनाउने र बिस्तारै यसलाई संग्रहालयको रूपमा स्थापित गर्ने बिपिनका पिता भण्डारीले जनाए । बेपत्ता योद्धा सम्बन्धी अध्ययन गर्न चाहनेको लागि यो एउटा अध्ययन केन्द्रको रूपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ ।

पार्क निर्माणका लागि बागचौर नगरपालिकाले २५ लाख बजेट विनियोजन समेत गरिसकेको नगरप्रमुख लोकमान बुढाथोकीले जनाए । पार्क तथा संग्रहालयको निर्माण पछि पर्यटनको क्षेत्रमा नगरलाई लाभ मिल्ने उनको भनाइ छ ।