विद्यार्थीकाे मृत्युपछि लमजुङको सिउँडिबार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

मूलखबर संवाददाता
लमजुङ

पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर १ विद्यार्थीकाे मृत्यु भएपछि उत्पन्न असहज परिस्थितिका कारण लमजुङको सिउँडीबार क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु जारी भएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिका– ९ को सिउँडीबार स्थित फ्युचरस्टार आमाविका एक विद्यार्थीको पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर निधन भएको घट्नाका कारण उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले फागुन २५ गतेका दिन बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु जारी गरेको हो ।
फागुन २४ गते नारी दिवसको विदाको उपयोग गर्दै गर्मी छल्नका लागि बोर्डिङ स्कूल नजिकै रहेको मर्याङ्दी नदीमा सोही माविमा रहेको छात्राबासका वार्डेनले विद्यार्थीलाई पौडी खेल्न लगेका थिए । सोही क्रममा कक्षा– १० मा अध्ययन गर्ने छात्र सनिजको नदीमा डुबेर निधन भएपछि उत्पन्न नतावपूर्ण स्थितिको नियन्त्रणका लागि कर्फ्यु जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा भनिएको छ, ‘कफ्र्युको क्षेत्र सुन्दरबजार नगरपालिका– ७ को पूर्व– दक्षिण स्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका– ९ को मध्यमर्स्याङ्दी जल विद्युत आयोजना केन्द्रको विद्युत केन्द्रको आवास क्षेत्रको गेट अगाडीको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्ला भित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।’