युवा परिषदले मनायाे साताैं स्थापना दिवस : कसले भने ?

मूलखबर संवाददाता
भक्तपुर, १९ फागुन

राष्ट्रिय युवा परिषदले सातौं स्थापना दिवस मनाएको छ । वि.स.२०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद,ऐन जारी भएको दिनलाई परिषद्ले स्थापना दिवस मान्दै आएको छ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बिहीबार सानोठिमीस्थित परिषद परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गरेका थिए । मन्त्री गहतराजले विभिन्न मन्त्रालयमा छरिएका युवा लक्षित कार्यक्रमहरु एकीकृत गरी अघि वढाउन सके मात्र ठोस परिणाम निकाल्न सकिने वताए।

मन्त्री गहतराजले युवाको विकास भनेको राष्ट्रको विकास भएको वताए । उनलेे भने -‘ समृद्ध राष्ट्र निर्माणका लागि सक्षम , प्रतिस्पर्धी र उद्यमशील युवा तयार गर्नु जरुरी छ ।’ मन्त्री गहतराजले विदेशवाट फर्किएका युवाहरुलाई स्वदेशमा सदुपयोग गर्न सरकार र परिषदले ठोस कार्यक्रम ल्याउनुपर्ने वताए ।

कार्यक्रममा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले मुलुकको ४० प्रतिशत हिस्सा ओगट्ने युवाको सर्वाङ्ङिण विकास नगरी राष्ट्रको विकास हुन नसक्ने धारणा राखे। भर्खरै नियुक्त भएका बस्नेतले परिषद सवै युवाहरूको साझा चौतरी वन्ने जिकिर गरे।

परिषदका पुर्व कार्यकारी उपाध्यक्ष समेत रहेका एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले विगतमा परिषदको जग वसाल्न खेलेको भुमिकाको चर्चा गरेका थिए। काङ्ग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले युवा परिषदले सवै विचार र क्षेत्रका युवालाई समेट्नु पर्ने वताए।

कार्यक्रममा माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ( दिपशिखा ) ले युवा परिषदले दुरदराज र तल्लो वर्गका युवाहरुको पक्षमा काम गर्नुपर्ने वताए । एकीकृत समाजवादीकी केन्द्रीय सदस्य दिलु पन्तले वेरोजगारी अन्त्य गर्न युवा परिषदले विशेष अभियान चलाउनु पर्ने वताइन्।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य विक्की यादवले परिषदले राजनीतिक आग्रहवाट मुक्त भएर काम गर्नु पर्ने वताए। त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका नेता मनिष मिश्रले युवा परिषद्ले सवै जाति ,क्षेत्र र समुदाय समेट्नुपर्ने वताए।

परिषद दिवसको कार्यक्रममा युवाले अभियन्ता एवम् युथ भिजन २०२५ निर्माण कार्यदलका सदस्य प्रदिप परियारले युवाको अवस्था , चुनौती र अवसर विषयमा कार्यपत्र पेश गरेका थिए । कार्यक्रममा परिषदका प्रकाशकीय प्रमुख रमाकान्त शर्मा र कार्यकारी सदस्य तिलोत्तम पौडेलले परिषदका गतिविधि वारे चर्चा गरेका थिए।