
बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने
लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने भएको छ । यस सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सवइन्जिनियर हरि श्रेष्ठले बताए ।
मनाङको नासोँ गाउँपालिका वडा नं ९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएको हो । त्यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकोमा गत कात्तिकमा आएको बाढी पहिराले समेत काठेपुल बगाएको थियो ।
