भूमि व्यवस्था मन्त्रालयकाे प्रगति : १२ हजार ६१४ लालपुर्जा वितरण

मूलखबर संवाददाता
काठमाडौं, २६ माघ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कित्ता नापी नाप नक्सा कार्यक्रमअन्तर्गत १२ हजार ६१४ जग्गाधनी लालपुर्जा वितरण गरेको छ ।

मन्त्री शशि श्रेष्ठले पद बहाली गर्नुभएपश्चात् मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धिबारे उहाँको सचिवालयद्वारा मङ्गलबार जारी कार्य प्रगतिमा सो सङ्ख्यामा जग्गाधनी लालपुर्जा वितरण गरिएको उल्लेख छ । प्रगति विवरणका अनुसार विशेष नापीबाट पाँच हजार ७४४, गाउँ ब्लकबाट छ हजार ६६४ र पुनः नापीबाट २०६ जग्गाधनी लालपुर्जा वितरण गरिएको हो ।

त्यसैगरी सम्पत्तिमा महिला र पुरुष तथा छोरा–छोरीबीच समान अधिकार रहने संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार सबै मालपोत कार्यालयलाई पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव नगरी सबै अंशियारले अंश पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सबै मालपोत कार्यालयलाई परिपत्र गरिएको कार्य प्रगतिमा समावेश छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको दीर्घकालीन समाधानका लागि गठन भएको राष्ट्रिय भूमि आयोगको अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरू नियुक्ति भई कार्य प्रारम्भ भएको तथा २८ जिल्लामा राष्ट्रिय भूमि आयोगका जिल्ला समितिमा अध्यक्ष नियुक्ति गरिएको कार्य प्रगतिमा जनाइएको छ ।

त्यसैगरी ७५ स्थानीय तहसँग भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने सन्दर्भमा सम्झौता भएको र ६८ स्थानीय तहमा लगत सङ्कलनका क्रममा रहेको जनाइएको छ ।

जग्गाको अतिक्रमण रोक्न सार्वजनिक, सरकारी, सामुुदायिक र गुठी जग्गाको संरक्षणका लागि त्यस्ता जग्गाको जिल्लागत र पालिकागत विवरण तयार गरी एकीकृत विवरण सम्बन्धित पालिका र विभागमा पठाउन सबै मालपोत कार्यालयलाई परिपत्र गरिएको र सोहीअनुरूप अहिले काम भइरहेको जनाइएको छ ।