लमजुङको उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात
लमजुङको उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । बिहीबार रातिदेखि हिमपात भएको स्थानीयले बताएका छन् । मर्स्याङदी गाउँपालिका, दाेर्दी गाउँपालिका, काेल्हासाेथर गाउँपालिका, दुधपाेखरी गाउँपालिकाका उच्च भेगमा रहेका डाँडामा र बस्तिमा हिउँ परेको हाे । स्मार्ट भिलेज घलेगाउँसहित ग्रामीण भेगमा यसवर्ष दोस्रो पटक हिमपात भएको हो ।
गएको माघ १२ गते हिमपात भएकोमा बिहीबार रातिदेखि पुनः हिमपात भएको छ । हिमपातले गाउँबस्ती नै ढाकेको छ । समुद्री सतहदेखि करिब २ हजार १ सय मिटर उचाइमा रहेको कव्होलासोंथर गाउँपालिका ३ घलेगाउँका गमबहादुर गुरुङका अनुसार बाक्लो हिमपात भएको छ । रातिदेखि निरन्तर हिमपात हुँदा गाउँ पूरै ढाकिएको छ ।
करिब १ फिट जति हिउँ परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘घलेगाउँमा यो वर्ष हिमपात भएको यो दोस्रो पटक हो । पहिलेभन्दा अहिले बाक्लो परेको छ । गाउँ सेताम्मे भएको छ । चिसो बढेकाले बाहिर निस्कन गाह्रो भएको छ ।’
पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । चिसो बढेकाले नागरिकलाई बाहिर निस्कन समस्या भएको छ । केही स्थानीय र गाउँमा आएका पर्यटक भने फोटो खिच्नका लागि गाउँमाथिको डाँडामा पुगेका छन् ।
यस्तै करिब २ हजार २०० मिटर उचाईमा रहेको मर्स्याङ्दी गाउँपालिकाको घनपोखरामा पनि बाक्लो हिमपात भएको छ । स्थानीय सुलबहादुर गुरुङका अनुसार घनपोखरामा निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । घरभित्रै आगो तापेर स्थानीयहरु बस्न बाध्य भएको उहाँले बताउनुभयो । केही युवायुवती भने हिउँ खेल्न भन्दै बाहिर निस्किएका छन् ।