वर्षा र हावाहुरीका कारण मधेस प्रदेशमा ३ काे मृत्यु

मूलखबर संवाददाता
जनकपुर, २१ माघ

हावाहुरीका कारण मधेश प्रदेशमा तीन जनाको मृत्यु भएको छ। रुख ढल्दा धनुषाको सबैला नगरपालिका र रौतहटको बौधिमाई नगरपालिकामा गरी तीन जनाको मृत्यु भएको हो।

धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा सबैलाको महेन्द्र सदाकी ८ वर्षीया छोरी प्रतिमा कुमारी सदा र चन्देश्वर सदाका ७ वर्षीय छोरा अरविन्द सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

ठूलो हावाहुरीका कारण विद्यालय प्राङ्गणमा रहेको मसालाको रुख ढल्दा दुबै जनाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको जानकारी दिए। त्यसैगरी गएरातिबाट जारी हावाहुरी र अविरल वर्षामा परी रौतहटमा एक जना महिलाको घरमा च्यापिएर मृत्यु भएको छ। शुक्रवार दिउँसो करिब १२ बजे बौधीमाई नगरपालिका १ अजगैबी निवासी राम मंगल राय यादवको श्रीमती ४५ वर्षीया फुलमतिया देवीको आफ्नै खपडाले छाएको गोठ घरमा मृत्यु भएको हो।

घर गोठमा वसिरहेको अवस्थामा वर्षा र हावाहुरीको कारण घर भत्किन जाँदा इट्टा, खपडा र काठले च्यापिएर घाइते भइ उपचारको लागि मौलापुरतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।