राष्ट्रको गौरव राख्ने खेलाडीहरुलाई प्रोत्साहन अभियानमा खेलकुद मन्त्री
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले सरकार सधैं राष्ट्रको गौरव बढाउने गरि खेल्ने खेलाडीको साथमा रहने बताएका छन् ।
सरकारले ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा लगातार दोस्रोपटक उपाधि हासिल गरेको नेपाली टोलीका खेलाडीलाई सम्मान तथा नगद हस्तान्तरण गर्नका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा मन्त्री अथकले भने, ‘तपाईहरुले आगामी दिनमा पनि यो विजयी यात्रालाई कायम राख्नुहुने छ भन्ने विश्वास छ । राष्ट्रको गौरव बढाउने गरि खेल्नुस, सरकार तपाईको साथमा छ । सरकार खेलकुदको विकासका लागि आगामी बजेटमा आवश्यक व्यवस्था गर्नुपर्छ । भलिबलका लागि नयाँ कवर्डहल बनाउने तयारी भईरहेको छ ।’
मन्त्री अथकले नेपालको सान बढाउने खेलाडीलाई प्रोत्साहन गर्ने कुरामा आफ्नो र प्रधानमन्त्री शेरबहादुर देउवाको लय मिलेको उल्लेख गरे । ‘मैले प्रस्ताव गर्नेवित्तिकै प्रधानमन्त्रीज्यूले एक कदम अघि बढेर साथ दिने गर्नुभएको छ । प्रधानमन्त्रीज्यू र मेरो बीचको यो समन्वयकै कारण नेपालको गौरव बृद्धि गर्ने खेलाडीहरु खाली हात हुनु परेको छैन,’ उनले भने ।
उनले नेपालको गौरव अन्तराष्ट्रिय क्षेत्रमा बृद्धि गराउन भूमिका खेलेका खेलाडीलाई धन्यवाद दिदै विश्वका समूदायसँग पनि नेपाललाई जोड्ने भूमिका खेलेकोमा बधाई दिए । उनले नेपाली फुटबललाई नयाँ स्तरमा उकास्न भूमिका खेलेका प्रशिक्षक अब्दुल्ला अलमुताइरीको पनि प्रशंसा गरे । ‘नेपाली फुटबललाई नयाँ स्तरमा उठाउने प्रशिक्षक अलमुताइरीलाई धन्यवाद दिन चाहान्छु, उनले भने ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा लगातार दोस्रोपटक उपाधि हासिल गरेको नेपाली टोलीका खेलाडीलाई प्रतिव्यक्ति ५ लाख नगद हस्तान्तरण गरेका थिए । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’को प्रस्ताव अनुसार मन्त्रिपरिषदले गरेको निर्णय अनुसार आज प्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीलाई नगद हस्तान्तरण गरेका हुन् ।
राष्ट्रको गौरव राख्ने खेलाडीहरुलाई प्रोत्साहन गर्न प्रतिखेलाडी ५ लाख, प्रतिप्रशिक्षकलाई तीन लाख र अफिसियललाई दुइ लाखका दरले नगद पुरस्कार, प्रमाण र सम्मान गर्ने निर्णय सरकारले गरेको थियो।
नेपालले पौस १३ गते मंगलबार बंगलादेशको ढाकामा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै उपाधि रक्षा गर्न सफल भएको थियो ।