गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा माओवादीका २ र कांग्रेसका १ सांसद विजयी, एमाले पराजित

मूलखबर संवाददाता
पाेखरा, १२ माघ

गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा महिला क्लस्टरबाट नेपाली कांग्रेसकी नेतृ कमला पन्त, दलिततर्फ माओवादीका भुवन सुनार र अन्यबाट माओवादी सुरेश आलेमगर विजयी भएका छन् । उनीहरुसँग एमाले उम्मेदवार क्रमशः लीला थनेत, अर्जुन सुनाम र पुण्य पौडेल प्रतिस्पर्धामा थिए । कमलाले ३०४८, सुनारले पनि त्यत्ति नै र आलेमगरले ३०९६ मत पाए । एमालेकी लीला र सुनामको २७२४÷२७२४ र पौडेलको २६९४ मतभार आएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।

गण्डकी प्रदेश सभामा कांग्रेससहितका गठबन्धनका ३१ सांसद छन् । गण्डकीमा ८५ स्थानीय तह छन् । प्रदेश सभामा एमाले सांसद संख्या २७ छ । तर पन्त र सुनारलाई उनीहरुको पार्टीका गठबन्धनका प्रदेश सभाका ३१ मध्ये २ सांसदले मत हालेनन् । पन्त र सुनारलाई प्रदेश सांसद २९ जनाको मात्रै मत परेको थियो । उनकी प्रतिस्पर्धी एमालेकी थनेतलाई आफ्नो पार्टीका २७ र बाँकी २ गरी २९ जना प्रदेश सांसदको मत आएको थियो । सुनामलाई पनि प्रदेश सांसद २९ जनाले मत हालेका थिए । अन्यतर्फको निर्वाचनमा एकजना प्रदेश सांसदको मत बदर भएको थियो ।

आलेमगरलाई ३० र पुण्य पौडेललाई २८ प्रदेश सांसदको मत आएको थियो । उनीहरुलाई स्थानीय तहका तर्फबाट क्रमशः ९२ र ७५ जनाले मत हाले । यो निर्वाचनमा प्रदेश सांसदको ४८ र स्थानीय तह प्रमुख÷उपप्रमुखको १८ मतभार हुन्छ । गण्डकीको प्रदेश सभामा ५९ सांसद छन् । ८५ स्थानीय तह छन् ।

निर्वाचनमा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका प्रमुख राजु विष्ट र बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का अनुपस्थित भएका थिए । विष्ट एमाले र खड्का राप्रपा हुन् ।