मलेसिया र खाडीमा जाने भिजिट भिसा १० माघदेखि बन्द

मूलखबर संवाददाता
काठमाडौं, ७ माघ

गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको छ ।

बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताएका छन् ।

‘विभिन्न उद्देश्यले खाडी राष्ट्रहरू र मलेसिया गई बिचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचना प्राप्त भएकोले २०७८ माघ १० गतेदेखि लागु हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि त्यस्ता राष्ट्रहरूको भिजिट भिसामा भ्रमण गर्न जान रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोनाको नयाँ भेरिएन्ट स्वदेश र विदेशमा पछिल्लो समय तीव्र रुपमा फैलिएसँगै सरकारले जोखिम नियन्त्रणका लागि यस्तो सूचना जारी गरेको जनाएको छ । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने नेपाली कामदारहरूलाई भने सरकारले रोक लगाएको छैन ।