बतासले बनाएका संरचना भत्काउन शुरु : यसरी पसेको थियो दरबारमा बतास

मूलखबर संवाददाता
काठमाडौं, २४ पुस ।

नारायणहिटी दरबार संग्रहालय विकास समितिले बतास अर्गनाइजेसनले दरबार क्षेत्रभित्र रेस्टुरेन्ट चलाउन बनाइरहेका अवैध संरचना भत्काइएको छ । मासिक दुई लाख २१ हजार रुपैयाँ भाडा तिर्ने गरी बतास समूहले सात रोपनी क्षेत्रफलमा बनेको भवन र बाहिरको जग्गा हात पारेको थियो । भवनको मात्र करार सम्झौता पाए पनि बाहिरको खाली जग्गामा समेत बतासले अवैध संरचना निर्माण गरिरहेको थियो । क्यान्टिन, कफीसप तथा रेस्टुरेन्टका लागि बनाउन लागिएका संरचना भत्काइएको समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।

संग्रहालयले अवैध संरचना भत्काउन एक दर्जनभन्दा बढी कामदार खटाइएको थियो । ‘बतासले आफूखुसी संरचना बनाएको थियो, त्यसैले सबै संरचना भत्कायौँ,’ दाहालले भने, ‘हामीले बताससँग भाडा पनि उठाएका थिएनौँ ।’ विभागीय पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनबमोजिम संरचना भत्काइएका हुन् । पर्यटनमन्त्री आलेले ऐतिहासिक महत्वको नारायणहिटी दरबारभित्र कुनै पनि हालतमा रेस्टुरेन्ट, कफीसप र बार सञ्चालन गर्न नदिने बताउँदै आएका छन् । नारायणहिटीको ठेक्का सम्झौतामा सेटिङको कुरा बाहिरिएपछि मन्त्रालयले सहसचिव होम लुइँटेलको संयोजकत्वमा छानबिन समिति नै गठन गरेको छ । त्यो समितिले आइतबारसम्म विस्तृत प्रतिवेदन बुझाउनेछ । ‘नारायणहिटीको ठेक्का सम्झौतामा के भएको बुझ्न छानबिन समिति बनाएका छौँ,’ पर्यटनसचिव महेश्वर न्यौपानेले भने, ‘छानबिन समितिको प्रतिवेदनअनुसार अगाडि बढ्छौँ ।’

यसरी दरबार छिरेको थियो बतास

बतास समूहले केपी ओली प्रधानमन्त्री हुँदा नारायणहिटी परिसरभित्र रेस्टुरेन्ट चलाउने ठेक्का पाएको थियो । १७ पुस ०७७ मा बतासको बिपिएस लिजिङ कम्पनी र संग्रहालय विकास समितिबीच भाडासम्बन्धी सम्झौता भएको थियो । समितिले आह्वान गरेको टेन्डरमा बतासकै तीनवटा कम्पनीहरूलाई प्रतिस्पर्धा गराएर सेटिङमै नारायणहिटी सुम्पिएको थियो । टेन्डरमा सहभागी बतास समूहभन्दा बाहिरको जोकर रेस्ट्रो तथा लन्जलाई भने प्राविधिक रूपमै असफल भएको भन्दै टेन्डर प्रक्रियाबाट हटाइएको थियो । सम्झौतामा बिपिएसले भवनको मासिक दुई लाख २१ हजार भाडा दिने र हरेक वर्ष १० प्रतिशत भाडा बढ्ने उल्लेख गरिएको छ ।

पशुपति धर्मशाला बतासलाई दिएको विषयमा पनि छानबिन हुँदै

बतास अर्गनाइजेशनले पशुपतिको धर्मशालामा तारे होटेल सञ्चालन गरिरहेको विषयमा छानबिन गर्न पनि समिति गठन गरिएको छ । धर्मशाला भारतको सहयोगमा बनाइएको थियो ।

पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिले सात दिनभित्रमा अध्ययन प्रतिवेदन पेस गर्नेछ ।

शक्तिका आडमा पशुपतिमैत्री धर्मशाला लिएर गरेर बतास अर्गनाइजेशनले ‘होटेल आनन्द’ सञ्चालन गरिरहेको छ । होटेल परिसरमै भिन्टेज गाडीको सोरुम पनि राखिएको छ । बतास समूहले सेटिङ मिलाएर अत्यन्तै न्यून भाडा तिर्ने गरी धर्मशाला भाडामा लिएर होटेल सञ्चालन गरिरहेको र होटेलमा पनि मनपरी शुल्क असुल गरिरहेको आरोप लागेपछि सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरिएका हो ।-नयाँ पत्रिकाबाट