खानेपानी संस्थानको महाप्रबन्धक नियुक्तिमा चलखेल सुरु
खानेपानी संस्थानको महाप्रबन्धक नियुक्ति गर्न चलखेल सुरु भएको छ। करिब २ महिनादेखि रिक्त पदका लागि पूर्वमहाप्रबन्धकद्वय भूपेन्द्र प्रसाद, अर्जुनबाबु ढकाल र निमित्त महाप्रबन्धक ईश्वर प्रसाद शक्ति केन्द्र धाइरहेका छन्। भूपेन्द्र र ईश्वर दाजुभाइ हुन्।
महाप्रबन्धकको दाबी गरिरहेका तीनै जना भने अनियमितता र भ्रष्टाचार काण्डमा मुछिँदै आएका छन्। निमित्त महाप्रबन्धक ईश्वर प्रसाद स्वत: दाबेदार मानिए पनि भूपेन्द्र प्रसाद र अर्जुनबाबु पुन: महाप्रबन्धक बन्न लबिङमा छन्।
भूपेन्द्र र ईश्वर संस्थानको डीआई (डक्टाइन आइरन) पाइप खरिद प्रकरणमा मुछिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीआई पाइप खरिद अनियमिततामा संलग्न रहेको भन्दै २०७० पुस १८ गते उनीहरूमाथि विभागीय कारबाहीको सिफारिस गरेको थियो।
डीआई पाइप खरिदमा तोकिएको योग्यता नपुगेको बोलपत्रलाई प्रभावग्राही भएको मूल्यांकनसहित स्वीकृतिका लागि सिफारिस गरेको भन्दै अख्तियारले उनीहरूमाथि कारबाहीको सिफारिस गरेको थियो। उक्त खरिदमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू कामु. उपप्रबन्धक ईश्वर, सहायक प्रबन्धक श्यामकृष्ण राजभण्डारी, सहायक प्रबन्धक रामकान्त पाण्डे, सहायक कानुन अधिकृत जानुकादेवी शिवाकोटी, सहायक सम्पत्ति अधिकृत कमल थापा र बोलपत्र स्वीकृत गर्ने तत्कालीन निमित्त महाप्रबन्धक भूपेन्दले पदीय कर्तव्य पालना नगरी अनुचित कार्य गरेको ठहर गर्दै अख्तियारले कारबाहीका लागि सिफारिस गरेको थियो। अख्तियारको आर्थिक वर्ष २०७०/७१ को वार्षिक प्रतिवेदनमै यो विषय उल्लेख छ।
बुटवल र नेपालगन्जका लागि डीआई पाइप खरिद सम्बन्धमा खानेपानी मन्त्रालयले पनि छानबिन गरेको थियो। मन्त्रालयको छानबिन समितिले भूपेन्द्र, ईश्वर र त्रिदीपकुमार श्रेष्ठसमेतले भ्रष्टाचार गरेको ठहर गर्दै १० पेज लामो प्रतिवेदन तयार गरेको थियो। महाप्रबन्धकको पुन : लविङ गरिरहेका ढकाल २०७० साउन १७ गते महाप्रबन्धक बनेका थिए। उनले कार्यसम्पादन मूल्यांकनमा आर्थिक वर्ष २०७१/७२ र २०७२/०७३ मा १०० मा ९/९ अंक मात्रै पाएका थिए। मन्त्रालय र ढकालबीच भएको सम्झौतामा आर्थिक वर्ष सकिएको ३ महिनाभित्र महाप्रबन्धकको वार्षिक प्रतिवेदन नै पेस गर्नुपर्ने उल्लेख थियो। तर, उनले आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदन नै पेस नगरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड फर्किएका थिए।
निमित्त महाप्रबन्धक ईश्वरका अनुसार कात्तिक पहिलो सातादेखि महाप्रबन्धक पद रिक्त छ। भूपेन्द्रको चार वर्षे कार्यकाल सकिएपछि महाप्रबन्धक खाली भएको हो। प्रकाशमानसिंह निकट निरण महर्जन तथा डेप्युटी म्यानेजर त्रिदेव श्रेष्ठ र प्रदीपकुमार मुडबरीलगायत महाप्रबन्धकको लबिङमा छन्।
महाप्रबन्धक बन्न प्रधानमन्त्री शेरबहादुर देउवादेखि खानेपानीमन्त्री उमाकान्त चौधरीसम्म पुगेर लबिङ भइरहेको स्रोतले बतायो। ईश्वरको प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगेको छ। नेपाली कांग्रेसको महाधिवेशन उनले ठूलो सहयोग गरेकाले ईश्वरलाई महाप्रबन्धक बनाउने चलखेल सबैभन्दा अगाडि भएको स्रोतले बताएको छ।