सकियाे काेप: ठूलो परिमाणमा कार्बन उत्सर्जन कटौतीको बाचा

मूलखबर संवाददाता
काठमाडौं

हरितगृह ग्यास उत्सर्जनको स्रोत खनिज इन्धन र कोइला प्रयोग घटाउने संकल्प गर्दै दुई सातादेखि ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २६) शनिबार राति सकिएको छ । देशहरूले अर्को वर्ष इजिप्टको शाम एल शेखमा हुने कोप २७ मा भेला हुनुअघि ठूलो परिमाणमा कार्बन उत्सर्जन कटौतीको लक्ष्य लिने वाचासमेत गरेका छन् ।

खनिज इन्धनको प्रयोग कम गर्ने भनी गरिएको वाचालाई विश्वका नेताहरुले सकारात्मक भन्दै ग्लास्गो जलवायु सम्झौतामा हस्ताक्षर गरेका छन् । कोप २६ का अध्यक्षसमेत रहेका बेलायती सांसद आलोक शर्माले अन्तिम समयमा वार्ताका क्रममा भएका विवादका घटनाप्रति “गहिरो माफी” मागे । यो सम्झौता कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताइरहँदा अध्यक्ष शर्मा भावविह्वल भए र बोल्दाबोल्दै एकछिन रोकिए । जानकारहरुले ग्लास्गो जलवायु सम्झौताले हरितगृह ग्यास उत्सर्जन कटौतीका लागि शक्तिशाली मुलुकहरुलाई दबाब दिने बताएका छन् ।

ग्लास्गो जलवायु सम्झौता (ग्लास्गो क्लाइमेट प्याक्ट) ले देशहरूलाई सन् २०२२ को अन्त्यसम्ममा विगतमा वाचा गरेअनुसार उत्सर्जन घटाउने लक्ष्य पूरा गर्नसमेत दबाब दिएको छ । “यो सम्झौताले जलवायु परिवर्तनसँग अनुकूलन गर्न विकासोन्मुख देशहरूलाई दिने रकम कम्तीमा दोब्बर गर्न शक्तिशाली (धनी) राष्ट्रहरूलाई आग्रह गर्दछ,” सम्झौतामा भनिएको छ ।