कर्णाली प्रदेशमा जीवनबहादुर शाही, १ मा राजेन्द्र राई मुख्यमन्त्री

मूलखबर संवाददाता
काठमाडौं

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त भएका छन् । उनले मंगलबार राति प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट शपथ ग्रहण गरिसकेका छन् । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् ।

माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र शाहीले पदबाट राजीनामा दिएपछि कांग्रेसका जीवन शाहीले मंगलबार दिउँसो प्रदेश प्रमुख कलौनी समक्ष दाबी पेस गरेका थिए। जीवन शाहीले प्रदेशसभामा २१ सांसद्‍को समर्थन पाएका छन् ।

शाही यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए । कर्णालीमा कांग्रेसका प्रभावशाली नेताको रुपमा चिनिने शाही पछिल्लो पटक हुम्लाबाट सांसद् बनेका थिए । शाही कर्णाली प्रदेशसभामा कांग्रेसको तर्फबाट एक मात्र प्रत्यक्ष निर्वाचित सांसद् समेत हुन् ।

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीसँगै नवनियुक्त मन्त्रीहरुले पनि मंगलबार शपथ ग्रहण गरेेेेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह आयोजना गरी मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराए ।
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । ४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्नुभएका राईलाई प्रदेश प्रमुख ‘प्यासी’ले केही घण्टा अघि नियुक्त गरे ।
मुख्यमन्त्री राईले गठबन्धन दलहरुमध्ये नेपाली काँग्रेसबाट २ र बाँकी दलबाट १/१ जनालाई समेटेर ६ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेेेका हुन् ।
मुख्यमन्त्री राईले नेपाली काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, नेपाली काँग्रेसका प्रमुख सचेतक रहेका नेता केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेता बिष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेेेेका ।
नवगठित प्रदेश मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित एक जना बाहेक सबै नयाँ अनुहारका मन्त्रीहरुले जिम्मेवारी पाएका छन् । नेकपा माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो भने दोश्रोपटक आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिएका छन् ।