२० दिन पैदल हिँडेर माइतीघर मण्डलामा धर्ना : खुट्टाभरी फोका, थकित अनुहार

मूलखबर संवाददाता
काठमाडौं, २३ असोज ।

मानिसलाई अन्याय परेको महशुस भएपछि कतिसम्म कष्ट उठाउन पनि तयार हुन्छ भन्ने उदाहरण बनेका छन् नेपालगञ्जबाट काठमाडौंसम्म २० दिन पैदल यात्रा गर्ने ११ महिला ।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा न्याय खोज्न नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिलासहितको १४ जनाको टोली माइतिघरमा आएर धर्ना बसिरहेको छ । यसपटकको यो धर्ना अघिपछिको भन्दा बेग्दै छ ।

यी दुई घटनाको सही छानाबिन नभएको गुनासो सिंहदरबारलाई सुनाउन उनीहरू केन्द्र सरकारको दैलो ताकेर नेपालगन्जबाट हिँडेर बुधबार साँझ काठमाडौं आइपुगेका हुन् ।
उनीहरुहरू बिहान ११ बजेतिर माइतीघर मण्डलामा आइपुगेका थिए । लामो यात्रापछि खुट्टाभरी फोका र थकेका अनुहार लिएर माइतीघर मण्डला छेउमा ब्यानर बोकेर उभिएका थिए।

काठमाडौं बसेकाहरु दशैंको चहलपहलमा परिवार बोकेर गाउँ र विभिन्न स्थानमा गाडि चढेर गइरहँदा उनीहरु दशैंको परवाह नगरी पैदल हिँडेरै राजधानी आएका हुन् ।