
दशैका लागि असोज ११ गतेबाट अग्रिम टिकट बुकिङ खुला
दशैंका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुले आज ९असोज ११ गते० सोमबारदेखि अग्रिम टिकट बुकिङ खुलेको छ। सरकारले आजदेखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो।
यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि आजदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टरसमेत थप गरिएको छ। गोंगबुमा ११ काउण्टर थप गरिएको विभागले जनाएको छ। अब गोंगबुमा टिकट काउण्टर संख्या ३२ पुगेको छ।
दशैंमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा टिकट काउन्टर थप गरेको हो।
ती काउन्टरहरुमा कम्प्यूटर प्रणालीका माध्यमबाट यात्रुलाई बसको टिकट प्रदान गर्ने व्यववस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। ‘अग्रिम टिकट बुकिङको सम्पूर्ण तयारी पूरा भएको छ,’ सिटौलाले भने, ‘सोमबार बिहान ७ बजेदेखि टिकट बुकिङ शुरु गरिनेछ।’
अनलाइनको माध्यमबाटसमेत टिकट बुकिङको व्यवस्था गरिएको विभागले जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन चल्दै आएका छन्।
ती सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गरिने प्रहरीले जनाएको छ।
यातायात व्यवस्था विभाग भने गत वर्ष दशैंका बेला नै बन्दाबन्दी रहेको तर, यो पटक कोरोना भाइरस महामारी पनि घटेको अवस्थामा यात्रुको चाप पनि बढ्ने अनुमान छ।
दशैंका मनाउन लागी काठमाडौं उपत्यकाबाट लामो तथा छोटो दूरीका करिब २० लाख मानिस घर फर्किने गरेका छन्।
सरकारले गत साउनमा भाडादर समायोजन गर्दै लामो दूरीमा चल्ने यातायातको भाडा ३० प्रतिशतसम्म बढाएको छ। तर, गत वर्ष कोरोना भाइरस संन्त्रासका कारण अधिकांश मानिसले काठमाडौंमा नै दशैं मनाएका थिए भने आफ्नो सवारीसाधन हुनेले काठमाडौं छोडेका थिए।
यो वर्ष दशैं मनाउन गाँउ फर्किने यात्रुको चाप हुने यातायात व्यवसायीको आँकलन छ।
