भारतले बन्द गर्दियाे महाकालीका सबै तुईन : सास्ती भाेग्दै नेपाली

मूलखबर संवाददाता
काठमाडौं, २९ साउन

दार्चुलाको विकट व्यासका बासिन्दालाई आफ्नै भूमि हुँदै सदरमुकाम आउजाउ गर्न समस्या भइरहेका बेला लुकीछिपी तुइनमार्फत महाकाली तरेर भारतीय बाटो प्रयोग गर्ने विकल्प पनि बन्द भएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले तुइन फुस्काइदिँदा व्यासका युवक जयसिंह धामी बेपत्ता भएको घटनापछि भारतले महाकाली नदी पार गर्ने त्यस क्षेत्रका सबै तुइन बन्द गरेको हो ।

कान्तिपुरमा खबर छ -तुइन बन्द गरिएपछि नेपालतिरको घुमाउरो र बाढीपहिरोले क्षतिग्रस्त बाटो प्रयोग गर्नुपरेको व्यास–२ राप्लाका राकेश बुढाथोकीले बताए । नेपालतर्फको पैदल बाटो तोसरपानीदेखि सदरमुकाम पुगुन्जेलसम्म बाढीपहिरोले भत्काएको छ,’ उनले भने, ‘रित्तै जान पनि मुस्किल पर्छ । भारी बोकेर हिँड्न असम्भवजस्तै छ ।’

सधैं तुइन भएरै सदरमुकाम आउने व्यास–३ सिनाका रमेश कुँवरले यसपालि नेपालकै समस्याग्रस्त बाटोबाट पिठ्युँमा बोकेर सामान लैजानुपरेको बताए । उनले भने, ‘जयसिंह घटनाले तुइन बन्द भइसक्यो । लुकीछिपी भए पनि तुइन तरेरै सदरमुकाम तथा बजारसम्म आउने, जाने गरेका थियौं । अहिले त सुन्सेरा, डोकट, नाजी, धौलाकोट, तिग्रम हुँदै झोलुंगे पुलबाट भारत जानुपरेको छ ।’

उनका अनुसार व्यास–५ तिग्रममा नेपाल–भारत जोड्ने झोलुंगे पुल छ । यो पुलबाट व्यासको ५ र ६ वडाका बासिन्दालाई पायक पर्छ । धौलाकोटको आधा बस्ती, तिग्रम, चन्दाकोट हुतीलगायतका स्थानीय तिग्रम पुल प्रयोग गर्छन् । माथिल्लो व्यासका धेरैजसो बासिन्दा तुइन तरेर सदरमुकाम आउजाउ गर्छन् । व्यास गाउँपालिकाका अन्य स्थानीय बासिन्दा पनि तुइनकै सहायताले महाकाली पार गरी भारतीय क्षेत्र हुँदै जिल्ला सदरमुकाम आवतजावत गर्ने गरेको कुँवरले बताए ।