गण्डकी प्रदेश मन्त्री अधिकारी पुगीन् बाढी पीडित बस्तीमा, पीडितलाई राहत सामग्री प्रदान
लमजुङ, ४ असार
गण्डकी प्रदेश सरकारकी मन्त्री मधुमाया अधिकारी लमजुङको दोर्दी गाउँपालिकाको बाढी प्रभावित क्षेत्रमा पुगीन् र पीडितहरुको दुखेको मनमा मलहम लगाइन् । मन्त्री नियुक्त भए लगत्तै आएको भिषण वर्षा र बाढीको कारण लमजुङको दोर्दी गाउँपालिकाको वडा नं ८ बन्सारमा ठूलो षती पुर्याएको थियो । मन्त्री अधिकारीले बाढीले पीडित बस्तीमा पुगी स्थलगत अनुगमन गरेकी हुन् ।
मन्त्री अधिकारी सहितको एक टोलीले बिहिबार बाढी प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको हो । बाढीले हिले बजारका १८ घर बगाएको थियो भने अन्य दर्जन भन्दा वढी घरका परिवारहरु विस्थापित बनेका थिए । वर्षासंगै आएको बाढीले विस्थापित भएकाहरुसंग प्रत्यक्ष भेटेर उहाँले विस्थापितको पुनस्र्थापनाका लागि स्थानीय सरकारसंगको समन्वयमा प्रदेश सकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
यस्तै, उहाँ सहितको टोलीले बाढीबाट विस्थापित भएका १८ घरधुृरीलाई राहतस्वरुप जस्तापाता लगायतका सामग्री समेत वितरण गरेको छ ।
मन्त्री अधिकारीसंगै अनुगमन तथा राहत वितरण कार्यमा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेल, जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रमुख, प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापा, नेपाल पत्रकार महासंघ, लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो ।
यस क्षेत्रका बाढीबाट विस्थापित भएका तथा जोखिममा रहेकाहरुलाई गाउँपालिकाले पनि विभिन्न रेडक्रसलगायतका संघसंस्थासंगको समन्वयमा राहत वितरण गरेको दोर्दी गाउँपालिकाका सूचना अधिकृत धर्म गुरुङले जानकारी दिए ।