अर्चलबोटका किसानलाई आधुनिक सहकारीद्वारा अनुदानमा हाते ट्रयाक्टर वितरण

मूलखबर संवाददाता
काठमाडौं

लमजुङको दोर्दी गाउँपालिकाका–२, अर्चलबोटका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको छ । अर्चलबोटमा रहेको आधुनिक कृषि बहुउद्धेश्यीय सहकारी संस्थामा आवद्ध किसानहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत धान ब्लक कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको आधुनिक कृषि बहुउद्धेश्यीय सहकारी संस्था का अध्यक्ष भगवान कुवँरले जानकारी दिनुभयो ।
सहकारीमा आवद्ध स्थानीय किसान गणेश खत्री, डिलबहादुर रम्तेल, रामजी विक, वासुदेव मरहट्ठा, भीमबहादुर भुजेललाई हाते ट्रयाक्टर वितरण गरिएको संस्थाका सचिव इश्वरी अधिकारीले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र, लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीको प्रमुख आतिथ्यतामा किसानलाई हाते ट्रयाक्टर प्रदान गरिएको हो । प्राप्त कृषि सामग्रीको सही सदुपयोग गर्न उहाँले सबैमा आग्रह गर्नुभयो । व्यवसायिक रुपमा कृषि कर्म गर्न सके, कृषि व्यवसायबाटै राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । अनुदानमा हाते टयाक्टर पाएसंगै कम समय र श्रममा खेतबारी खनजोत गर्न सहज हुने स्थानीय किसान भीमबहादुर भुजेलले बताउनुभयो । आधुनिक कृषि प्रविधिको उपयोगसंगै कम समय र श्रममा धेरै काम गर्न सकिने र कृषि उत्पादनमा वृद्धि हुने अर्का स्थानीय किसान वासुदेव मरहट्ठाले बताउनुभयो ।
कृषि सामग्री वितरण कार्यमा दोर्दी गाउँपालिकाका वडा नं २ का वडाअध्यक्ष गोविन्द अधिकारी, कार्यपालिका सदस्य रमा खड्का, वडा सदस्य राजु लामिछाने लगायतका स्थानीय सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।