म्युकरमाइकाेसिस (कालाे ढुसी) नेपालमा बढ्दाे, कस्ता लक्षण, कसरी बच्ने ?

मूलखबर संवाददाता
काठमाडौं, २० जेठ
कोरोना संक्रमितहरुमा देखिन थालिएको घातक असर म्यकुरमाइकोसिस अर्थात् कालो ढुसीको प्रभाव नेपालमा पनि बढ्न थालेको छ । नेपालमा कोरोना संक्रमण भएर निको भएका दश जनालाई कालो ढुसीको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कालो ढुसी संक्रमणबाट बीरगञ्जमा ३ जनाले ज्यान गुमाएका छन् । मानिसको प्राण नै लिनसक्ने कालो ढुसीको संक्रमणप्रति सचेत हुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कालो ढुसीको संक्रमण भएका बिरामीहरुमा ज्वरो निरन्तर आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने लगायत लक्षण देखिने मन्त्रालयले जनाएको छ ।

४५ देखि ६५ उमेर समूह, मधुमेह तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु, धेरै किसिमको एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरुमा यसको संक्रमणको जोखिम रहन्छ ।

कालो ढुसी संक्रमणको लक्षणाहरू…

– अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने ।

– ज्वरो आउने ।

– आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने ।

– आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने ।

– नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने ।

जोखिम क–कसलाई हुन्छ ?

१. ४५ देखि ६५ उमेर समूह

२. डाइबेटिक वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू

३. धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधि लामो समयसम्म प्रयोग गर्नेहरू ।

कालो ढुसी संक्रमणबाट बच्ने उपाय

१. सफा र सुख्खा मास्क प्रर्योग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने ।

२. नियमित रूपमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने

३ सरसफाइमा ध्यान दिने ।

५. धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने

६. नुनिलो पानीले नाक ,मुख सफा गर्ने

७ . स्टेरोइड र एन्टिबायोटिक प्रयोग चिकित्सकको सल्लाहमा मात्र गर्ने ।

९. मधुमेह भएका बिरामी विशेष सचेत हुने ।

तस्बिर : thelandset.com