राष्ट्रियसभा सदस्यमा देवकोटा विजयी, बादललाई हराउन एमालेकै हात

मूलखबर संवाददाता
हेटौंडा, ६ जेठ

राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटा विजयी भएका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा खिमलाल देवकोटासँग सुर्य चिन्ह लिएर उठेका एमाले उममेदवार रामबहादुर थापा बादल पराजित बनेका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।

बादलले एमालेको माधव समुहको साथ नपाएपछि पराजय वेहोरेका हुन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीको दोहोरो भुमिका पनि बादलको पराजयको कारण बनेको विश्लेषकहरुले बताएका छन् । बादललाई पराजित गराउन एमालेकै महासचिव समेत रहेका इश्वर पोखरेलले गोप्य सर्कुलर समेत गरेका स्थानिय तहका मतदाताले बताएका थिए ।

स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ ।
त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।

राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो भने साढे ४ बजेदेखि मतगणना शुरु भएको थियो ।

उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्पm १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका थिए । यसमध्ये कोरोना भाइरस संक्रमित मतदाताको संख्या २५ थियो ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था मिलाइएको थियो ।

नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन भएको हो । जसमा बादल पराजित हुनुका साथै अब सांसद रहने बाटोसमेत बन्द भएको छ ।