छैन सुविधा : बीरामी चिसो भुईमा, बीर र शिक्षण अस्पतालका भवन खाली

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, १ जेठ ।
कोरोना भाइरसको संक्रमण्ले दिनहुँ २ सय भन्दा वढि नागरिकको अकालमा ज्यान गइरहेको छ । सरकारको लगानी र नियन्त्रणमा सञ्चालित टेकु अस्पतालमा बीरामी चिसो भुईमा जिवन मृत्युको संघारमा छटपटाइरहेका बेला बीर र शिक्षण अस्पतालका नवनिर्मीत भवनहरु खाली छन् ।

महामारीले आक्रान्त जनताको चाप धान्न नसकेर टेकु अस्पतालले पेटीमा बेन्चमा मात्र होइन, भुइँमा समेत राखेर उपचार गराइरहेको छ । जम्मा पाँच बेड क्षमताको इमर्जेन्सी वार्डमा ५२ जना बिरामी छन् । पटक–पटक परिरहेको पानीले भुइँका बिरामी भिज्न थालेपछि अस्पताल प्रशासनले पार्किङ खाली गरेर बेड थपेको छ । अस्पतालले पार्किङ खाली गरेर १० बेड राखेको छ । तैपनि धेरै बिरामी अझै पनि बाहिरै छन् । यीमध्ये २७ बिरामी गम्भीर छन् जसलाई आइसियूमा राख्न आवश्यक छ, तर बेडसमेत नपाएर पेटीमै सुतेर जीवनका लागि संघर्ष गरिरहेका छन् ।

टेकुको इमर्जेन्सी वार्डका प्र्रमुख लीलानाथ भण्डारी भन्छन्, ‘सकेसम्म हाइफ्लो अक्सिजन आवश्यक पर्ने बिरामीलाई वार्डमा सार्ने कोसिस गरिरहेका छौँ । तर, वार्डमा सबैजना गम्भीर बिरामी भएकाले निको हुने दर कम छ, अपेक्षित बेड खाली हुन सकेको छैन । त्यसैले आइसियूमा राख्नुपर्ने बिरामीसमेत तीन–चार दिन बाहिरै हुनुहुन्छ ।’

एकातिर निमोनियाले ग्रसित बिरामी टेकुको चिसो भुइँमा छन्, उता दुई किलोमिटर पर वीर अस्पतालमा भर्खरै निर्माण गरिएको भव्य सर्जिकल भवन खाली छ । दुई अर्ब २६ करोड लगानीमा भर्खरै निर्माण भएको यो भवनमा ६ सय ५० बेड राख्ने योजना छ । कम्तीमा दुई सय ७० बेडमा तत्कालै बिरामी राख्न सकिने स्वास्थ्य मन्त्रालयले नै स्पष्ट पारेको छ । टेकु वा अन्य अस्पतालको पेटीमा रहेका बिरामी वीरमा सार्न सकिए कम्तीमा न्यानो बेडमा उपचार पाउँथे । तर, सरकारले अक्सिजन नदिएको भन्दै वीरले नयाँ बेड सञ्चालन गरेको छैन ।

वीरको सर्जिकल भवनमा कम्तीमा एक सय नयाँ बेडमा मंगलबारदेखि नै कोभिडका बिरामी राख्ने तयारी गरिएको थियो । तर, अक्सिजन नपाएकाले बिरामी राख्न नसकिएको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सर्जिकल भवन सञ्चालन गर्न वीरलाई पटकपटक निर्देशन दिएको छ । तर, सरकारले अक्सिजन नदिएका भन्दै वीरले नयाँ बेडमा बिरामी राख्न मानेको छैन । ‘एक सय नयाँ बेड अहिले नै सञ्चालन गर्न सकिन्छ । तर, पुरानै भवनमा भएका बिरामीलाई पनि पुग्ने अक्सिजन आएको छैन । थप बिरामी भर्ना गर्ने, तर भोलि अक्सिजन नपाएर उनीहरूको मृत्यु भयो भने जिम्मेवारी कसले लिने रु’ निमित्त निर्देशक शान्ता सापकोटाले प्रश्न गरिन् । यो विषयमा स्वास्थ्य मन्त्रालयसँग पटकपटक छलफल भए पनि अक्सिजनको विषयमा भरपर्दो जवाफ नआएको उनले बताइन् ।

वीर अस्पतालको पुरानो भवनमा दुई सय ६१ बिरामी छन् । ‘शुक्रबार साँझसम्म एक सय ६१ जना संक्रमित अस्पतालको वार्डमा भर्ना भएका छन्,’ डा। सापकोटाले भनिन्, ‘इमर्जेन्सीमा एक सय छन् । बेड कुरेर इमर्जेन्सीमा बसिरहेका बिरामीसमेत अक्सिजन नपुगेर छटपटाइरहेका छन् । अक्सिजन थप आउने सुनिश्चित नभएम्म नयाँ भवनमा बिरामी कसरी थप्ने रु’

एक वर्षदेखि बिग्रिएको अक्सिजन प्लान्ट भर्खरै बनाएर सञ्चालनमा ल्याइएको छ । दैनिक एक सय ५० सिलिन्डर भर्दै आएको प्लान्टले वीरको माग धान्न सकेको छैन । नयाँ भवन सञ्चालन गर्न बाहिरबाटै अक्सिजन आउनुपर्ने उनको भनाइ छ । यसरी सरकारले पर्याप्त अक्सिजन जोहो गर्न नसक्दा वीर अस्पतालको नयाँ र भव्य पूर्वाधार यो महामारीमा उपयोगविहीन भएको छ । जब कि बिरामीले अथाह दुःख पाएका छन् ।

शिक्षण अस्पतालले पनि बेड नभएकाले बिरामी भर्ना गर्न सकेको छैन । बेडको प्रतीक्षामा शुक्रबार पनि ७० बिरामी इमर्जेन्सी वार्डमा थिए । भित्र नअटेका बिरामी बाहिर पेटीमै छन् । तर, शिक्षण अस्पतालमै भर्खरै निर्माण भएको सुरेश वाग्ले स्मृति क्यान्सर भवन आठ तलाको छ, तर जम्मा ४० बेड मात्र सञ्चालन गरिएको छ ।

‘यो विशाल भवनमा हामीले तत्काल दुई सय बेड थप्ने योजना बनाएका थियौँ । तर , ४० बेड मात्रै प्रयोग गरिएको छ । अरू सबै खाली छन् । अक्सिजन नभएकाले बेडमा बिरामी राख्न सकिएको छैन,’ शिक्षण अस्पतालका कोभिड संयोजक डा। सन्तकुमार दास भन्छन्, ‘हामीले हाल अस्पतालमा भर्ना गरेका बिरामीलाई समेत अक्सिजन पु¥याउन सकेका छैनौँ, यो वेला नयाँ बेड थप्ने योजना टाढाको विषय भयो ।’ नयाँ भवनका नयाँ बेडमा बिरामी कहिले राख्ने भन्ने विषय अहिले स्पष्ट गर्न नसकिने उनले बताए । ‘अक्सिजन भए छिट्टै राख्न सकिन्छ, तर त्यसको जिम्मेवारी कसले लिने रु’ उनले भने ।

शिक्षणकै मनमोहन सेन्टरको नवनिर्मित ‘एनएक्स’ भवनमा भने कोरोना संक्रमितको उपचार सुरु गरिएको छ । यो भवनमा जनरल बेड र आइसियूमा बिरामी राखेर उपचार थालिएको अस्पतालका चिकित्सक डा। रत्नमणि गजुरेलले बताए । ‘एनएक्स भवनमा अहिले जनरल बेड २०, क्याबिन १० बेड र १२ बेड आइसियू सञ्चालनमा छ । अहिले सबै बिरामीले भरिएका छन्,’ डा। गजुरेलले भनेको खबर नयाँ पत्रिकामा छ । ।