राजमोले गण्डकी प्रदेश सभा सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । जनमोचार्का महासचिव मनोज भट्टले थापालाई संसदीय दलको नेताबाट हटाइएको जानकारी दिए । थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही गरिएको र यस विषयमा संसद सचिवालयलाई जानकारी दिएको उनले जानकारी दिएका हुन् ।
सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट कारबाही गरिएपनि सांसद पदबाट भने निलम्बन गरिएको छैन । पार्टीका आफ्नै प्रक्रिया हुने भन्दै यसपछि के कारबाही हुन्छ भन्ने कुरा अहिले नै बताउन नमिल्ने उनले बताए ।
प्रदेशसभामा तीन सदस्य रहेको राजमोका पियारी थापा र खीमविक्रम शाहीले विपक्षी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी गठबन्धनले मुख्यमन्त्रीको रुपमा अगाडि सारिएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा हस्ताक्षर गरिसकेका छन् ।
सांसद कृष्ण थापाले भने उनको पक्षमा हस्ताक्षर गर्न इन्कार गरेसँगै विहान स्पष्टीकरण सोधेको राजमोले दिउसो संसदीय दलको नेताबाट हटाएको हो ।
राजमोले थप कारबाहीको बारेमा नबताएपनि कृष्ण थापालाई निलम्बनको प्रक्रिया अगाडि बढाएको र संसद सदस्यबाट नै हटाउने आफूहरुलाई आस्वासन दिएको गठबन्धन दलका एक नेताले नयाँपत्रिकालाई बताएका छन् । त्यसो गर्दा ६० सदस्यीय गण्डकी प्रदेशसभामा ५९ सांसद हुने र ३० सांसदको साथ पाउँदा विपक्षी गठबन्धनलाई बहुमत पुग्ने ति नेताको दाबी छ ।