कोरोना कहर : ५२ जिल्लामा निषेधाज्ञा, जनजीवन कष्टकर बन्दै, संक्रमण झन बढ्दै

मूलखबर संवाददाता
काठमाडौं, २२ बैसाख ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नया भेरियन्टसहितको दोश्रो लहरले नेपाल आक्रान्त बन्दै गएको छ । कोरोना संक्रमण दर रोक्न भन्दै सरकारले बैसाख १६ देखि काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा अहिले ५२ जिल्लामा विस्तार भइसकेको छ ।

निषेधाज्ञाले सर्वसाधारण जनताको जनजीवन कष्टकर बन्दै गइरहेको छ भने संक्रमणदर पनि निरन्तर बढिनै रहेको छ ।

२४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण २४ घण्टामा भएको यो सबभन्दा धेरै मृत्यु हो । मंगलबार कोरोना संक्रमणका कारण ५५ जनाले ज्यान गुमाएका थिए ।

यस्तै देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जनाए । एकैदिनमा यो हालसम्मकै सबभन्दा उच्च संक्रमण हो । उनका अनुसार ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण देखिएको छ ।

२४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोनामुक्त भएका प्रवक्ता गौतमले बताए । मंगलबार कोरोना संक्रमणका कारण ५५ जनाले ज्यान गुमाएका थिए ।

मुलुकमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ । कतिपय जिल्लमा आफ्नै योजनामा वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ५२ जिल्लामा पुगेको छ । त्यसमध्ये १२ जिल्लामा आंशिक आदेश जारी भएको छ । पछिल्लो चौबीस घण्टामा छ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक यसरी आदेश जारी हुने जिल्लामा म्याग्दी, मुगु, तनहुँ, बारा, सिराहा, र नवलपरासी पश्चिम छन् । त्यसमध्य तनहुँ र म्याग्दीमा क्षेत्र तोकेर आंशिक आदेश जारी भएको छ । नवलपरासी पश्चिममा आज बिहानदेखि आदेश लागू भइसकेको छ भने म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि लागू हुनेछ । बारा र सिराहामा बिहीबार बिहान ६ बजेदेखि लागू हुनेछ ।

सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञ जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ । अहिले बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ र गुल्मीमा निषेधाज्ञ लागू गरिएको छ ।

यस्तै प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ र वैतडी, नुवाकोट, धनुषा, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, दैलेख, अर्घाखाँची र रोल्पामा पनि आदेश कार्यान्वयनमा छ । त्यसमध्ये बाग्लुङ, दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, कालिकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ, तनहुँ र म्याग्दीमा आंशिक निषेधाज्ञा छ ।