काेराेनाले संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

मूलखबर संवाददाता
काठमाडौं

कोरोना संक्रमणबाट नेपाली काँग्रेसकी नेतृ तथा संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको शनिवार बेलुकी निधन भएको छ । नेपालगञ्ज ३ निवासी सिद्दिकीको ६२ वर्षको उमेर निधन भएको हो ।

कोभिड पुष्टि भएपछि गएको चैत २८ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरेर उहाँको उपचार भैरहेको थियो । उहाँको स्वास्थ्य अवस्था विग्रदैगएपछि गत मंगलवारदेखि भेन्टिलेटरमा राखेर उहाँको उपचार भैरहेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।
उहाँलाई प्लाज्मा दिनुका साथै सबै प्रकारको उपचार विधि अपनाईए पनि जोगाउन नसकिएको डा. थापाले बताउनुभयो ।
मुस्लिम समुदायलाई पहिचान दिलाउने र महिलाको समग्र अधिकारको लागि लड्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेकै कारण सिद्दिकीलाई संविधानसभाको सदस्य बनाईएको थियो ।
२०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएकी सिद्दिकी समानुपातिकतर्फ नेपाली काँग्रेसबाट संविधानसभाको सदस्य बन्नुभएको थियो । काँग्रेसको भगिनी संस्था नेपाल महिला संघकी सल्लाहकार सिद्दिकीले यसअघि महिला संघको जिल्ला सदस्य र महिला विभाग सदस्यको समेत जिम्मेदारी सम्हालिसक्नुभएको थियो ।