नेप्से ३ वर्षयताकै उच्च, साँढे १२ अंकले बढ्यो नेप्से

मूलखबर संवाददाता
काठमाडौं, २३ कात्तिक

सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १ हजार ६ सय ५० नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा साढे १२ अंकले बढेपछि आइतबार नेप्से १ हजार ६ सय ४८.५८ विन्दुमा उक्लेको हो । यो तीन वर्षयताकै उच्च हो ।

यसअघि ०७४ साउन २३ मा नेप्से १ हजार ६ सय ६७ विन्दुमा थियो । त्यसपछि घट्न थालेको नेप्से ०७५ फागुन ५ मा १ हजार १ सय ०९ को न्यून विन्दुमा ओर्लियो । सो विन्दुबाट टेवा पाएर बढ्न लागेको नेप्से गत फागुन १८ मा पछिल्लो एक वर्षकै उच्च १ हजार ६ सय २०.२७ विन्दुमा पुगेको थियो । पछिल्ला केही सातायता भने नेप्से पछिल्लो उच्च विन्दु पार गर्दै उकालो लागिरहेको छ ।

नेप्से परिसूचकसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि हालसम्मकै उच्च बनेको छ । आइतबार कुल बजार पुँजीकरण २२ खर्ब ९ अर्ब रुपैयाँ कायम भएको छ । यसअघि यस्तो पुँजीकरण करिब २२ खर्ब १ अर्ब रुपैयाँ कायम भएको थियो । बजार पुँजीकरण हालसम्मकै उच्च भए पनि समग्र नेप्से भने हालसम्मकै उच्च विन्दुभन्दा अझै २ सय ३३ अंकले कम हो । ०७३ साउनमा नेप्से हालसम्मकै उच्च १ हजार ८ सय ८१ विन्दुमा पुगेको थियो ।