काेराेना जितेपछि सांसद शान्ता चाैधरीले लेखिन्- कसैलाई पनि काेराेना जस्तो शत्रु नलागाेस्

मूलखबर संवाददाता
काठमाडौं

नेकपा सचेतक शान्ता चौधरीले कोरोना संक्रमणलाई पराजित गरेर पुनर्जीवन पाएको बताएकी छन् ।

विगतमा स्तन क्यान्सरबाट समेत पीडित भएकी चौधरीलाई गत १९ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी बीर अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई २३ असोजमा अाइसियुमा लगिएको थियाे ।

शुक्रबार उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । लगत्तै सामाजिक सन्जालमा लामो स्टाटस राख्दै उनले पुनर्जीवन पाएको बताएकी हुन् ।

‘पुराना रोग हुनेहरुलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकाले पनि बाँच्छु जस्तै लागेको थिएन,’ उनले लेखेकी छन्, ‘…आज कोरोना निगेटिभ भएको नतिजा आयो । लाग्यो मैले पुनर्जीवन पाएँ ।

१९ दिनको अस्पताल बसाइ र त्यसमा पनि अधिकांश समय आइसीयूमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न नसक्ने उनले उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘वीर अस्पतालका अति सघन उपचार कक्षको बेडमा बडो मुस्किलले सास फेरिरहँदा आफूलाई एकदम निरीह महसुस गर्थें । बाहिर हजारौं शुभचिन्तकहरू हुनुहुन्थ्यो जसले मेरो शीघ्र स्वास्थ्य लाभको कामना गरिरहनु भएको र मेरो स्वास्थ्यको चिन्ता गर्दै आवश्यक समन्वयका र सहजीकरणका लागि प्रयत्न गरिरहनु भएको थियो । तर म हजारौं शुभचिन्तकहरूको भीडमा एक्लो महसुस गर्थें । यस्तो अनुभव अधिकांश कोरोना संक्रमितले गर्नुभएकै हुनुपर्छ ।’

आफूलाई पुनर्जीवन दिएको भन्दै उनले वीर अस्पतालका सबै डाक्टरहरू, नर्सहरू र अस्पताल परिवारप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।

‘उहाँहरुले मृत्युको मुखबाट बाहिर निकालेर मलाई पुनर्जीवन दिनुभो । बेलाबेलामा हौसला दिइरहनु भयो । विशेष हेरचाह गर्नु भयो र आज म यो स्टाटस लेख्ने अवस्थामा फर्कें । उहाँहरूका लागि मेरा शब्दका धन्यवाद अपुरो होला,’ चौधरीले फेसबुकमा लेखेकी छन् ।

कसैका परिवारलाई पनि अस्पतालमा बस्नु नपरोस्, अस्पताल खोज्दै हिँड्नु नपरोस् र कोरोनारुपी महाशत्रुमाथि विजय प्राप्त गर्ने शक्ति मिलोस् ।