पढाैं, रचना माेक्तान `यात्री´का सुन्दर ३ कविता..
१. कविताको शिर्षक : मारुनी
सुनबुट्टे बिहानी या
अँध्यारो कालरात्रीमा पनि
सप्तरंगी ईन्द्रेणी जस्तै सजिएर
मुहारमा जूनको कान्ति बोकेर
आँखामा जूनकीरिको लेप पोतेर
परेलीमा वर्षौंदेखिको
सभ्यताको गाँजल लगाउँदै
गलामा चाँदीको हार लगाएर
चौबन्दी र गाउनमा सजिएकी
पछ्यौरीको घुम्टो ओडेकी
कार्तिक महिना एकादशीमा
देवीथान मन्दिरको आगान परिसरमा
झुल्किन्छिन मारुनी
अनि अथक नर्तकी जस्तै
आँगनीमा नाचीरहन्छिन मारुनी
रोधीको सुरिलो भाकामा
र मादलुको विभिन्न तालहरूमा
छमछम गोडाका चालहरूमा
कहिले देउडा र बालन नाच्छिन
कहिले सोरठी र ख्याली नाच्छिन
कहिले घाटु र हाक्पारे नाच्छिन
कहिले चुड्का र कर्खा नाच्छिन
देश देशान्तरमा नथाकी नाच्छिन
त्यसैले,
हाम्री मारुनी
मौलिक सँस्कृति र सभ्यताको
उज्यालो छर्दै आउँछिन ।
*****
२. कविता : युद्धको घाउ
आजादीको निम्ति
रक्तपातमय रणसंग्राममा
सहभागी हुँदा
करङको बार भत्काउँदै
मुटु नजिकको कलेजो
छिचोलिएको गोलीको घाउ
उकुच पल्टेर
सडकपेटीको प्रतीक्षालयलाई
आफ्नो थातबास बनाउँदै
जिन्दगीको भीख मागिरहँदा
साउन जस्तै मेरो आँखामा
झरी परिरहेको बेला
एउटा पजेरो हुँईकिंदै आयो
र सडकको हिलो उछिट्याएर
मेरो मुखभरि छ्याप्यो
यसो चिहाएर पजेरो भित्र हेर्दा त
एउटा सफेदपोशलाई देखें
आखिर त्यो त
त्यही लडाइँमा आदेश दिने
मेरो कमान्डर रहेछ
उसलाई मैले युद्धको बेलामा
गोलि लाग्छ कि भनेर
मानव रक्षाकवच बनेर बचाएको थिएँ ।
******
३. कविता शिर्षक : लडाइँ
परमाणु बम जस्तै
सुक्ष्मातिसुक्ष्म
कोरोनाको किटाणु
अपशकुन बनेर
मृत्युको कफन बोक्दै
संसारभर विचरण गरेपछि
मच्चिएको छ एक
घगडान विश्वयुद्ध
यो विश्वयुद्ध लड्न
हरदम-हरपल
तैनाथ भएकाछन
सेता एप्रोन र पि.पि.ई. लगाएका
बर्दीधारी सिपाहीहरू
बोकेकाछन खोपका बन्दुकहरू
बोकेकाछन औषधिका क्षेप्यास्त्रहरू
तेर्स्याएकाछन सिरिन्जका मोजलहरू
खेलीरहेकाछन अस्पतालहरुपी ब्यारेकहरूको
परेड ग्राउन्डमा मृत्युकै चाँदमारी
बोकेकाछन औषधिका असंख्य गोलीहरू
जित्न लागेकाछन भिक्टोरिया क्रस
त्यसैले,
हामीले सम्मान गारद अर्पण गर्नैपर्छ
विश्वयुद्ध जित्ने अपराजेय सिपाहीहरूलाई
*****************