
बलत्कारका घटनामा कडा नीति अबलम्बन गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोनाका कारण उत्पन्न भएको आर्थिक र सामाजिक असरका कारण अपराधका घटनाहरु बढ्न सक्ने भन्दै त्यसलाई निस्तेज पार्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् ।
मंगलबार भर्चुअल रुपमा आयोजना गरिएको प्रदेश नं १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दै गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेको भन्दै यसलाई रोक्नेगरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
उनले भने, ‘नयाँ चुनौतीहरुलाई निस्तेज पार्दै जनताको जिउधनको सुरक्षा गर्न अहिलेको सुरक्षा रणनीतिलाई परिमार्जन गर्दै उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाएर कार्यान्वयन गर्नुस् ।’ उनले पछिल्लो समय लैङ्गिक हिंसा र बलात्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशील हुन पनि प्रहरीलाई निर्देशन दिए ।
उनले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको बताउँदै सिमा नाका नियन्त्रण र नियमनलाई प्रभावकारी बनाइराख्न आग्रह गरे ।
