कोरोनाको खोप यो वर्षको अन्त्यसम्ममा : डब्लुएचओ

मूलखबर संवाददाता
काठमाडौं, २२ असोज ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा।टेड्रस अदनोम गेब्रेससले कोरोनाविरुद्धको खोप यसैवर्षको अन्त्यसम्ममा आउन सक्ने पूर्वानुमान गर्नुभएको छ । उहाँले खोप उपलब्ध भएपछि सामान पहुँचका लागि विश्वभरिका नेताहरुको ऐक्यबद्धता र राजनीतिक प्रतिबद्धता आवश्यक हुने बताउनुभयो ।

रोयटर्सका अनुसार विश्व स्वास्थ्य संगठनका प्रमुख डा। गेब्रेससले संगठनको कार्यकारी परिषद्को बैठकको समापन समारोहलाई सम्बोधन गर्दै भन्नुभयो, “हामीलाई खोप जरुरी छ, र यसैवर्षको अन्त्यसम्ममा खोप तयार हुने आशा गर्न सकिन्छ ।” हाल नौ वटा खोप परीक्षणको चरणमा छन् । विश्व स्वास्थ्य संगठनको कोभाक्स ग्लोबल भ्याक्सिन सेवाले सन् २०२१ को अन्त्यसम्म दुई अर्ब खोप वितरण गर्ने लक्ष्य राखेको छ ।

दुई दिनसम्म चलेको परिषद्को बैठकमा जर्मनी, बेलायत र अष्ट्रेलियाबाट राष्ट्रसंघीय निकाय स्वास्थ्य संगठनलाई अझै सशक्त बनाउनुपर्ने गुनासो आएको थियो ।