नेकपा सचिवालय बैठक : नेता कार्यकर्तालाई तलबदेखि मन्त्रीपरिषद हेरफेरसम्म छलफल

मूलखबर संवाददाता
काठमाडौं, ५ असाेज

सत्तारूढ दल नेकपाकाे सचिवालयले पार्टीका नेताहरूलाई तलब दिने प्रस्तावमा छलफल गरेको छ । पार्टीका नेता कार्यकर्ताहरू बाँच्नकै लागि समेत कमिसनसहितका विभिन्न कार्यमा सम्लग्न भएको भनेर अालाेचना भइरहेको बेला नेकपाले पहिलोपटक यस्तो छलफल गरेकाे हाे ।

पेरिसडाँडामा बसेको बैठकमा यस्तो प्रस्ताव पेश भएको हो। केन्द्रीय सदस्यलाई कम्युनिस्ट पार्टीको सिद्धान्त अनुसार पैसा दिने सम्बन्धी प्रस्ताव पेश भएको हो।

पूर्णकालीन कार्यकर्तालाई प्रदेश, जिल्ला वा सोभन्दा तलका कमिटीले आफैं निर्णय गर्ने भए पनि केन्द्रीय सदस्यलाई कसरी आर्थिक सहयोग गर्ने भन्ने विषयमा सचिवालयमा छलफल हुने श्रेष्ठले बताए।

‘केन्द्रीय कमिटीका सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने बारेमा एजेन्डा राखिएको छ। पूर्णकालिन कार्यकर्तालाई  तलदेखि माथिसम्म कुनै न कुनै रुपमा सहयोग गर्ने कुरा पहिला कम्युनिस्ट पार्टीले अभ्यास गर्दै आएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘प्रदेश, जिल्ला वा सो भन्दा तल सम्बन्धित कमिटीले छलफल गर्ने भएकाले सचिवालयले केन्द्रीय कमिटी सदस्यको हकमा के गर्ने भन्ने विषयमा छलफलका लागि कार्यसूची तय गरेको छ।’

श्रेष्ठका अनुसार बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा विभिन्न कोणबाट छलफल भएको छ। नीतिगत छलफल भए पनि व्यक्तिको नाम भने टुंगो नलागेको प्रवक्ता श्रेष्ठले बताए।

आइतबारको सचिवालय बैठकले पार्टीको स्थायी कमिटीको निष्कर्ष र निर्णय कार्यान्वयन प्रक्रियामा लाने विषयमा छलफल चलाएको श्रेष्ठले बताए। प्रवक्ता श्रेष्ठका अनुसार मन्त्रिपरिषद्को पुनर्गठन केही समयअघि सम्पन्न भएको स्थायी कमिटी निर्णय अनुसार नै हुनेछ।

सरकारकाे कामबारे समीक्षा गरेर मन्त्रीपरिषदमा हेरफेर गर्नका लागि प्रधानमन्त्री अाेलिले तीन विकल्प अगाडि सारेका छन् । उनले सबैलाई फेर्ने, दुई वर्ष पुगेकालाई फेर्ने वा कामकाे मुल्यांकन गरेर फेर्ने विकल्प प्रस्ताव गरेका थिए ।

नेकपाकाे अाजकाे बैठक बालुवाटारमा बस्नेछ ।