नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै, यस्ता छन् एजेन्डा

मूलखबर संवाददाता
काठमाडौं, ४ असाेज

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पेरिसडाँडास्थित पुर्व माअाेवादी मुख्यालयमा बस्दैछ ।

यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

गत स्थायी समिति बैठकबाट पार्टी सञ्चालनको सम्पूर्ण अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएपछि पहिलोपटक अायाेजना गरिएको सचिवालय बैठक पेरिसडाँडामा बस्न लागेकाे हाे ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।

सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ ।

बैठकमा सरकार र पार्टी सञ्चालनकाे उपयुक्त मापदण्ड बनाउने, मन्त्रिपरिषद पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषयमा छलफल हुने बताईएकाे छ ।

गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने नेकपा नेताहरुले बताएका छन् । साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।