बेलायतमा सेल्फ आइसोलेसनमा नबस्नेलाई सेप्टेम्बर २८ बाट १५ लाख जरिवाना

मूलखबर संवाददाता
काठमाडौं, ४ असोज

बेलायतले सेल्फ आइसोलेसनमा नबस्नेलाई १० हजार पाउण्डसम्मको जरिवाना गर्ने घोषणा गरेको छ। पछिल्लो विनिमयदर अनुसार यो जरिमाना १५ लाख नेपाली रूपैयाँ भन्दा बढी हुन आउँछ।

नयाँ नियमको घोषणा गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नियमको पालना नै कोरोना भाइरस विरूद्धको लडाईंका लागि उत्कृष्ट तरिका भएको बताएका छन्।

घोषणा अनुसार कोरोना पोजेटिभ पाइएका र ट्रेसिङका क्रममा संक्रमितको निकटमा आएका सबैजना सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ। यो नियम सेप्टेम्बर २८ बाट लागु हुनेछ।

बिबिसीका अनुसार नयाँ सुरक्षा सावधानीमा निम्न आय भएकालाई एकपटकका लागि ५ सय पाउन्डको आर्थिक सहयोग दिने जनाइएको छ। यस्तै सेल्फ आइसोलेशनमा बसेकालाई कारवाही गर्ने रोजगारदातालाई जरिमाना तिराइनेछ।

शनिबार बेलायतमा कोरोनाका ४ हजार ४ सय २२ नयाँ संक्रमित फेला परेका थिए भने २७ जनाको मृत्यु भएको छ। स्टकल्याण्डमा ३ सय ५० नयाँ संक्रमित फेला परेको छन्, जुन मे यताकै सर्वाधिक दैनिक संख्या हो। यस्तै वेल्स र उत्तरी आयरल्याण्डमा क्रमशः २१२ र २२२ जनामा संक्रमण पुष्टि भएको छ।

नयाँ कानुन अनुसार सेल्फआइसोलेसनमा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिमाना तिर्नुपर्नेछ भने पटके उल्लघंनकर्ताका लागि यो जरिमाना १० हजार पाउण्डसम्म हुनसक्नेछ। बेलायतमा अहिलेसम्म सेल्फ-आइसोलेसनलाई एउटा निर्देशनका रूपमा मात्र राखिएको थियो, दण्डनीय बनाइएको थिएन।