मन्त्रीपरिषद निर्णय : बामदेवलाई राष्ट्रियसभा, असोज ५ देखी आन्तरिक उडान, कुलमान अनिर्णीत

मूलखबर संवाददाता
काठमाडौं, २९ भदौ ।

सरकारले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त सदस्य पदमा नियुक्तिको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले बामदेबलाई सिफारिस गर्ने सत्तारुढ दल नेकपाको निर्णयलाई कार्यान्वयन गरेतापनि बहुचर्चित विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिको विषयमा भने कुनै निर्णय गर्न सकेन ।

सो कुराको जानकारी कृषि तथा सहकारी मन्त्री घनश्याम भुषालले दिनुभयो । यस अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमको नाम सिफारिस गर्नेबारे नेकपाको सचिवालय बैठकलाइ जानकारी गराउनु भएको थियो ।

साथै नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी पदमा कुलमान घिसिङको नाम सिफारिस हुने समाचारहरू सार्वजनिक भए पनि आज त्यस विषयमा कुनै निर्णय नभएको मन्त्री भुषालले जानकारी दिनुभयो ।

बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लगेकोमा प्रधानमन्त्रीले सुरुमै कानुनी प्रश्न रहेकाले यसमा आफूले थप परामर्श गर्ने बताएपछि बैठकको मुल एजेण्डामै प्रवेश नभएको ती मन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नेबारे प्रस्ताव गएपछि कानुनी प्रश्न उठाएका छन् । उनले कानुनी प्रश्न उठेकाले यसबारे परामर्श गर्न जरुरी रहेकाले आजको मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्न नसकेको एक मन्त्रीले जानकारी दिए ।

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले २०७३ साल भदौ २९ गते कुलमानलाई प्राधिकरणमा नियुक्त गरेका थिए । सोअनुसार ४ वर्षे कार्यकाल आइतबार सकिएका कुलमानलाई सरकारले पुनः नियुक्ति दिनुपर्ने दवाव चौतफी भएपनि आज नियुक्ति हुन नसकेको हो ।

यसैगरी असोज ५ गतेबाट आन्तरिक उडान पनि सञ्चालन गर्ने निर्णय भएको उहाँले जानकारी गराउनुभयो ।