बाह्रबिसे पहिरो अपडेट : ६ को उद्धार, ११ शव भेटियो, २० वेपत्ता, १७ घर अझै जोखिममा

मूलखबर संवाददाता
सिन्धुपाल्चोक, २९ भदौ

पटक पटक बाढि पहिरोको चपेटाले आक्रान्त भएको सिन्धुपाल्चोकले भदौ २८ गते फेरी अर्को विपत्तिको सामना गर्न पुग्यो । जिल्लाको बाह्रबिसे नगरपालिकाको वडा नं ७ मा आएको वाढी र पहिरोले १८ घर बगाउनुका साथै दर्जनौंको ज्यान समेत लियो ।
अहिलेसम्म बेपत्तामध्ये ६ जनाको जिवितै उद्धार गरि उपचारार्थ अस्पताल पठाइएको छ भने ११ वटा शव निकालिएको छ । त्यसैगरी पहिरोमा २० जना अझै हराईरहेका छन् । १७ घर अझै पनि जोखिममा रहेको देखिएको छ ।

पहिरोले क्षती पुर्याएको खबर पाएसँगै सभामुख तथा त्यसै क्षेत्रका सांसद अग्नी प्रसाद सापकोटा गाडि चढेर घटनास्थल पुगेका थिए । उनी सामान्य जाकेट र जुत्ता लगाएर हिलो पन्छाउँदै त्यहाँ पुग्दा रुवावासी थियो । उनले उद्धार कार्य गर्न र घाइतेहरुलाई अस्पताल पठाउन साथै पीडितहरुलाई तत्काल बसोबासको व्यवस्था गर्न स्थानिय तह, जिल्ल प्रशासन कार्यलय र संघ सरकारसँग समन्वय गरेका छन् ।

उनको सचिवालयका तर्फबाट प्रेस विज्ञ श्रीधर न्यौपानेले जारी गरेको प्रेस नोटमा उनले पहिरो पीडितरप्रभावितहरुसँग छलफल गरेको, प्रभावितहरुको सुरक्षित बसोबासका लागि आफ्नो तर्फबाट सबै पहल गर्ने बताएको उल्लेख छ ।

यस्तो छ प्रेस नोट
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा आज सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाको वडा नं ७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा गएरातीको भीषण पहिरोले ठूलो मानवीय एवम् भौतिक क्षति गराएको स्थलमा पुग्नुभयो । उहाँले पहिरोले क्षति पुर्याएको स्थानहरुको स्थलगतरुपमा जानकारी लिनुभयो । स्थानिय पहिरो पीडितरप्रभावितहरुसँग छलफल गर्नुभयो ।
सभामुख सापकोटाले जिल्लामा पछिल्लो समय प्राकृतिक विपत्तिहरु बढिरहेको उल्लेख गर्नुहुँदै जोखिमयुक्त सूचिकृत नभएका बस्तीहरुमा समेत पहिरो जानुले थप चिन्तित तुल्याएको बताउनुभयो । सभामुख सापकोटाले तत्काल उद्धार, राहत, अस्थायी स्थानान्तरणमा ध्यान दिइने जानकारी दिंदै स्थायी स्थानान्तरणका लागि सिन्धुपाल्चोकका भूगोलको विस्तृत भौगर्भिक अध्ययन गरिने बताउनुभयो ।
उहाँले जिल्लामा परेको विपत्तिका विषयमा विज्ञहरुसँग छलफल गरेर स्थानीयलाई सुरक्षित रुपमा बस्ने व्यबस्था गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । सभामुुख सापकोटाले पहिरो पीडितरप्रभावितहरुको सुरक्षित बसोबासका लागि आफ्नो तर्फबाट सबै पहल गर्ने बताउनुभयो ।
सभामुख सापकोटाले आजै बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रविसे देखि चीनसँगको सीमानाका लिपिङसम्मको स्थलगत अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले अरनिको राजमार्ग व्यबस्थित गर्ने र तातोपानी नाका सुचारु गर्ने विषयमा आफूले पहल गर्ने बताउनुभयो ।
यसैबीच सभामुख सापकोटाले भीरखर्क, नागपुजे र नेवारटोलका पहिरोमा परेर ज्यान गुमाएहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पहिरोमा परि ज्यान गुमाएका शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
पहिरोमा परि घाइते भएका ६ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ । आज साँझ सम्म ११ जनाको शव निकालिएको छ भने २० जना अझै बेपत्ता रहेका छन् । पहिरोका कारण भीरखर्कका ४, नाकपुजेका ११ र नेवार टोलका ७ गरी २२ घर पूर्णरुपमा क्षति भएको छ । १७ घर जोखिममा रहेका छन् ।