अझ बलियो एकता र सुढृढ पार्टीको खाँचो छ : प्रचण्ड, अध्यक्ष नेकपा
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै बलियो एकता र सुदृढ पार्टी निर्माणको जिम्मेवारी आफूले निर्वाह गर्ने बताएका छन् ।
पार्टीको स्थायी समिति बैठक समापन गर्दै शुक्रबार वालुवाटारस्थित प्रधानमन्त्री निवासमा अध्यक्ष प्रचण्डले बलियो एकता र सुदृढ नेकपाले मात्रै नेपाललार्य समृद्ध मुलुक र समाजवादी मुलुक बनाउन सक्ने बताए ।
लामो समयको विवाद र रस्साकस्सीपछि बसेको स्थायी समिति बैठक विशिष्ट भएको बताउँदै प्रचण्डले दुई महिनाको विवाद नगरेको भएपनि हुने तर त्यसले नराम्रो नगरेको बताए ।
स्थायी समिति बैठकबाट कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको सम्पूर्ण जिम्मा पाएपछि अध्यक्ष प्रचण्डले सो धारणा व्यत्त गरेका हुन् । गत मंसिर ४ गते नै कार्यकारी अधिकार प्रचण्डलाई दिइएको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन ।
बैठक समापनमा प्रचण्डले भने- ‘हामीले एउटा विशिष्ट चरण पार गर्यौं। सायद यस्तो हामीले नगरेको भए पनि हुन्थ्यो होला। पहिले प्रस्ताव ल्याएर छलफल स्थायी समितिमा गराएको भए हुन्थ्यो होला। दुईटै प्रस्ताव भएको भए पनि बैठक त्यस्तो हुँदैनथ्यो होला। तापनि यसले हामीलाई शिक्षा दिएको छ। अढाई महिनामा निक्कै उतारचढाव आयो। हामीलाई टेन्सन पनि भयो। पार्टी नै के हो के भन्ने अवस्थासम्म भयो। अब फुट्यो क्यारे भने जस्तो भयो। यत्रो मेहनत गरेर एकता गरिएको थियो। फुटोस् भन्नेहरू पनि थुप्रै थिए। त्यसमा हामीबीचकै अविश्वास र संकटले पनि काम गर्यो।’
प्रचण्डले आफूहरुको विवादमा बाह्य शत्तिः समेत खेलेको बताए । उनले भने -‘बाह्य शक्तिहरूले पनि केही चलखेल गरे। तर हामीले पार्टी यत्रो बनाएर पनि जोगाउन नसक्ने भयौं भन्ने चरणमा पुगेर फेरि फर्केर सम्हालिएका छौं। अझै सम्हालिएर जान आवश्यक छ।’
प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली र आफूले संयुक्त रुपमा ल्याएको प्रस्ताव धेरै राम्रो भएको लागेको र त्यसको परीक्षा व्यवहारमा हुने पनि स्पष्ट पारे । उनले थप जोड दिँदै भने, -‘प्रस्तावभित्र धेरै राम्रा र महत्वपूर्ण कुरा छन्, त्यो राम्रो र महत्वपूर्ण कुरा के हुन् भन्ने व्यवहारमा कस्तो हुन्छ हेर्नुपर्ने हुन्छ। अहिलेलाई अब हामी एकताबद्ध भएर एकताका बाँकी काम सम्पन्न गर्दै महाधिवेशन लक्षित भएर जाऔं। यसैमा पार्टीको भविष्य सुनिश्चित छ।’
उनले आफू बलियो पार्टी एकता र सुदृढ पार्टी निर्माणमा पुरै ध्यान केन्द्रीत भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई त्यही अनुसार लाग्न निर्देशन समेत दिए । उनले विचारमा स्पष्ट, व्यवहारमा प्रतिबद्ध पार्टीले मात्रै अबको नेपालको नेतृत्व गर्न सक्ने भएकाले महाधिवेशनबाट स्पष्ट विचारसहित पार्टीलाई अगाडि लैजाने बताए । उनले भने -‘बलियो अझ बलियो एकता र सुढृढ पार्टीको खाँचो छ। पार्टीलाई फुटको दुर्घटनाबाट बचाइएको छ। अब पार्टी एकताको रक्षा र विचारको बहस गर्दै पार्टीलाई वैचारिक रूपान्तरण गर्नुपर्छ।’