नेकपा स्थायी समिति बैठक सम्पन्न : अध्यक्षद्वयकाे प्रस्ताव पारित, प्रचण्ड कार्यकारी अध्यक्ष

मूलखबर संवाददाता
काठमाडौं, २६ भदौ

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक अध्यक्षद्वयले राखेको प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको छ ।

बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले बाँकी कार्यकाल सरकारको नेतृत्व गर्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नेतृत्व गर्ने निर्णय पारित गरेको छ । निर्णयसँगै प्रचण्ड अब कार्यकारी अध्यक्षको भुमिकामा कृयाशिल हुन पाउने भएका छन् ।

बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।

आजको बैठकमा रघु पन्त, लिलामणि पोखरेल, भीम आचार्य, माधव कुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, देव गुरुङ, घनश्याम भुषाल, मातृका यादव, भीम रावल, अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले आफ्नो धारणा राखेका थिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब पार्टीलाई विधि र पद्धतीमा अगाडि बढाउने र सरकार पार्टीको मागर्दशनमा चल्ने निर्णय भएको छ । सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइनेछ ।

बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

असार १० गते शुरू भई पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पछिल्लोपटक साउन ६ गते छोटो समयका लागि बसेको थियो । लामो समयदेखि अनिर्णयको बन्दी बनेको स्थायी कमिटी बैठकको समापन भएको हो ।